धनगढीमाईका प्रमुख प्रशासकीय अधिकृतसहित सबैलाई सफाइ

मंगलबार, २७ फागुन, २०८१
डिजिटल संस्करण

विशेष अदालतले स्थानीय तहमा भएको भ्रष्टाचारको एक मुद्दामा सफाइ दिएको छ। मंगलबार सिराहाको धनगढीमाई नगरपालिकामा अनियमितता भएको दाबीसहित दायर गैरकानुनी लाभको मुद्दामा सफाइ दिइएको हो।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र विदुर कोइरालाको इजलासले तीन महिनाअघि दायर मुद्दामा सफाइ दिएको हो। साढे चार लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै दायर मुद्दामा यस्तो फैसला आएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनगढीमाईको प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगाले, लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसाद, स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी र जिन्सी शाखा प्रमुख सम्पैत यादवमाथि मुद्दा चलाएको थियो। यसमा हेल्पिङ मल्टिपर्पोज प्रालि मैतीदेवीका प्रबन्ध निर्देशक माधवप्रसाद गौतम र उक्त फर्म पनि प्रतिवादी रहेकोमा सबैलाई सफाइ दिइएको हो।

आर्थिक वर्ष ०७८-७९ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका औषधि खरिदका लागि सरकारबाट आएको ससर्त अनुदान हिनामिना भएको अख्तियारको अनुसन्धानले देखाएको थियो। विनियोजित रकममध्ये १७ प्रकारका औषधिहरू स्थानीय पत्रिकामा प्रकाशित मूल्यभन्दा बढी मूल्य राखी खरिद गरे–गराएको तथा पाँच प्रकारका औषधिहरू मूल्यसूचीभन्दा बाहिरको खरिद गरेको अभियोग उनीहरूमाथि लगाइएको थियो।

सार्वजनिक खरिद ऐनविपरीतका कार्य भएको देखिएपछि मुद्दा दायर भएकोमा विशेषले सफाइ दिएको हो। अख्तियारले गत २० मंसिरमा मुद्दा चलाएको थियो।

सुझावित समाचार