हसौराको ६२ बिघा जग्गा ‘भूमाफिया\'को कब्जामा

मंगलबार, २७ फागुन, २०८१
डिजिटल संस्करण

कावासोती-४, हसौराका ६ सय घर परिवारले वर्षाैँदेखि जाेतभाेग गर्दै आएकाे आफ्नै जग्गाकाे धनी लालपुर्जा पाउन नसकेकाे बताएका छन्। बस्ती बस्दादेखि जोतभोग गर्दै आएका उनीहरूकाे जग्गा मालपोत कार्यालय परासीका तत्कालीन कर्मचारीहरूसँगकाे मिलेमतोमा भूमाफियाले आफ्नाे नाममा पारेपछि उनीहरू बिचल्लीमा परेका छन्। 

यहाँको करिब ६२ बिघा जग्गाको जग्गाधनी लालपुर्जा भूमाफियाको नाममा रहेको कावासोती–४ का वडाध्यक्ष नारायण लोहनीले बताए। उनका अनुसार यहाँ कहिलै बसोबास नभएको र आफ्नो जग्गा कहाँ पर्छ र कुन हो भन्ने थाहासम्म नभएका व्यक्तिको नाममा जग्गाधनी लालपुर्जा रहेको छ।

कावासोती–४ का लोकबहादुर आले यहाँ बस्दै आएको २० वर्षभन्दा बढी भयो। तर, उनले जोतभोग गर्दै आएको जग्गाको धनी लालपुर्जा अझै आफ्नो नाममा आएको छैन। उनले जग्गाधनी लालपुर्जा झिक्न विभिन्न कानुनी प्रक्रिया पूरा गरी अगाडि बढ्दा अर्कैको नाममा लालपुर्जा भएको थाहा पाए। उनीलगायत आसपासका १५ घरधुरीका बासिन्दाको जग्गाको धनी लालपुर्जा बुटवल घर भई बेलायत बस्दै आएका पर्साबहादुर आलेको नाममा रहेको उनले बताए। उनले पटक-पटक आफ्नो नाममा जग्गाधनी लालपुर्जा प्राप्त गर्न संघर्ष गर्दा यहाँका नेता तथा सांसदहरूले कुनै चासो नदिएको गुनासो गरे।

कावासोती–४, हसौरानिवासी गणेश पोख्रेलले आफूले वर्षौँदेखि जोतभोग गर्दै आए पनि जग्गा अर्कैको नाममा भएको बताए। यहाँका १५-२० परिवार बसोबास गर्दै आएको जग्गा यदुनाथ पराजुली (मृतक) को नाममा रहेको उनले बताए। निर्वाचनको वेला नेताहरूले जग्गाधनी लालपुर्जा दिन्छु भनेर सधैँ आश्वासन दिने गरेको, तर कुनै सहयोग नगरेको गुनासो गरे।

यहाँका बासिन्दा कोही यहाँ बस्ती बस्दादेखि नै खनजोत गर्दै आएका बासिन्दा छन् भने कोही ऐलानी जग्गा हुँदा खनजोत गर्दै बस्दै आएकासँग जग्गा किनेर बसेका छन्। हसौराको ६२ बिघा जग्गा क्युप्रसाद बस्याल (प्रगतिनगर), ठाकुर शर्मा (कावासोती), पर्साबहादुर आले (युके), चुनबहादुर तामाङ (नुवाकोट), डिलाराम सापकोटा (चितवन), काशीराम सापकोटा (मृतक), यज्ञमूर्ति पाठक (मृतक) रुपन्देही, तोयानारायण पन्त (गुल्मी), गजाधर सापकोटा (गुल्मी)लगायतको नाममा छ।

उनीहरूले साबिक नवलपरासी जिल्ला हुँदा मालपोत कार्यालय परासीका तत्कालीन कर्मचारीहरूसँग मिलेमतोमा फिल्डमा समेत नआई जग्गाधनी लालपुर्जा लिएको कावासोती–४ का वडाध्यक्ष नारायण लोहनीको आरोप छ। 

स्थानीयले जग्गा फिर्ताको कानुनी प्रक्रिया अगाडि बढाइरहेको वेला क्युप्रसाद बस्याललगायतका भूमाफियाहरूको टोलीले सर्वोच्चमा मुद्दा हालेर पीडक पक्षले मुद्दा जितेपछि कानुनी प्रक्रिया अगाडि बढाउने बाटो पनि बन्द भएको वडाध्यक्ष लोहनीले बताए। यो जग्गा पछि ०६३ सालमा मालपोत कार्यालय कावासोतीले भूमाफियाको नामको जग्गाधनी लालपुर्जा बदर गर्ने निर्णय गरेकोमा उक्त निर्णय सर्वोच्चले उल्टाएको थियो। वर्षौँदेखि यहाँ बसोबास गर्दै आएका बासिन्दाले जग्गाधनी लालपुर्जा नपाउने र बाहिर बस्दै आएका व्यक्तिको नाममा जग्गाधनी लालपुर्जा भएपछि यहाँका बासिन्दाको उठिबास नै भएको छ।

कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले कावासोती नगरपालिकाले जसको जोतभोग छ, उसको नाममा जग्गा ल्याउन पहल थाले सर्वोच्चको फैलासाका कारण काम अगाडि बढाउन नसकिएको बताए।

यसैगरी, तत्कालीन मालपोत कार्यालय कावासोतीका प्रमुख एवं हालका नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले सर्वोच्चको फैसला पछि स्थानीय थप पीडित भएको बताए। उनका अनुसार स्थानीय पीडितले अहिले यही विषयलाई अख्तियारमा मुद्दा हालेको र अख्तियारले स्थानीयको पक्षमा फैसला गरे मात्र भूमाफियाको हातबाट जग्गा स्थानीयको हातमा दिन सकिने बताए।
 

सुझावित समाचार