फिल्म ‘हेल्लो काँशीराम’को फर्स्ट लुक सार्वजनिक गरिएको छ। निर्माण युनिटले फर्स्ट लुक्समा फिल्मको एक पोस्टर बाहिर ल्याएको हो। जसमा प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ। निर्माण युनिटले फिल्मको प्रदर्शन मिति आगामी जेठ २ गतेलाई तय गरेको छ।
पोस्टरमा अभिनेता दिलीप रायमाझीलाई एउटा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ। जसले फिल्म कमेडी शैलीमा निर्माण भएको संकेत गर्छ। फिल्मको कथावस्तु अहिले खुलाइएको छैन। तर, निर्माण टिमका अनुसार, छिट्टै सार्वजनिक हुने टिजरमार्फत थप जानकारी उपलब्ध गराइनेछ।
फिल्ममा दिलीप रायमाझीसँगै सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई (फुलन्देकी आमा), भँगेरी डन, नवज्योति रसाइली, सुमन खाण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालुलगायतको अभिनय छ।
रिमा विश्वकर्माले निर्देशन गरेको फिल्ममा दर्शकले चर्चित अभिनेत्री प्रियंका कार्कीलाई विशेष गेस्टका रूपमा देख्न पाउनेछन्। रेडलाइन फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन पनि रिमा विश्वकर्माले नै गरेका हुन्। यसका निर्माता पिबी थापा हुन् भने यम आलेले खिचेका हुन्। डेढ करोडको लागतमा निर्माण भएको बताइएको फिल्ममा मित्र डी. गुरुङको सम्पादन छ।
फिल्मको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन्। शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मको अन्तर्राष्ट्रिय मिडिया म्यानेजमेन्टको जिम्मा ‘सेलिब्रेटी टाइम्स प्रालि’ले लिएको छ।