परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवाद कार्यक्रममा सहभागी हुन बंगलादेशको अन्तरिम सरकारका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार (मन्त्री) मोहम्मद तोउहिद हुसेनलाई निमन्त्रणा पठाएकी छिन्।
बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले मंगलबार सल्लाहकार हुसेनलाई ढाकामा भेटेर निमन्त्रणा हस्तान्तरण गरेका हुन्।
नेपाली राजदूतावासका अनुसार सगरमाथा संवादको पहिलो संस्करणमा सहभागी हुन उनलाई निमन्त्रणा हस्तान्तरण भएको छ। सरकारले आगामी जेठ २ देखि ४ सम्म काठमाडौंमा सगरमाथा संवादको आयोजना गर्दै छ।
राजदूत भण्डारी र सल्लाहकार हुसेनबिच जलवायु संकटसँग सामना गर्न साझा प्रयास अघि बढाउनुपर्नेबारे छलफल भएको दूतावासले जनाएको छ। दुई देशबिच व्यापार, ऊर्जा, कनेक्टिभिटी, पर्यटन, जनस्तरीय सम्पर्कका क्षेत्रमा सहकार्य थप सुदृढ गर्ने विषयमा पनि छलफल भएको छ।