मेचीनगर गोल्डकप : ब्ल्याक बुल्सलाई हराउँदै धरान सेमिफाइनलमा

पेनाल्टी सुट आउटमा उज्वेकिस्तानका असिवेक अरिफजोनोभको प्रहारलाई गोलरक्षक विपुल मगरले विफल पारेपछि धरान अन्तिम चारमा

मंगलबार, २७ फागुन, २०८१
डिजिटल संस्करण

उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै धरान एफसी मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार काँकडभिट्टा खेल मैदानमा निर्धारित समयको खेल १–१ को बराबरी भएको थियो । त्यसपछि विजेताको छिनोफानो पेनाल्टी सुटआउटबाट भयो । 
लगातार दोस्रो दिन मेचीनगर गोल्डकपको नतिजा पेनाल्टी सुटआउटमा निस्केको हो ।

आइतबार चर्च ब्वाइज युनाइटेडले झापा एफसीलाई सडन डेथमा हराउँदै अन्तिम चारको स्थान पक्का गरेको थियो । पेनाल्टी सुटआउटमा धरानका वैकल्पिक गोलरक्षक विपुल मगर नायक बने । उज्वेकिस्तानका पहिलो प्रहार गर्न आएका असिबेक अरिफजोनोभको प्रहार विपुलले रोकेका थिए । प्रशिक्षक हेमकुमार गुरुङले प्रवीन लिम्बूको स्थानमा विपुललाई मैदान पठाएका थिए ।

धरानका मिलन राई, सुरज रसाइली, प्रज्वल थापा, अजय विष्ट र सुगम जिमीसहित पाँचै खेलाडीले गोल गर्न सफल भए । ब्ल्याक बुल्सका खुसान गानिजानोभ, अजिजबेक खुर्सिनबोभ र कुभेनच्बेक ओलिमोभले गोल गरेका थिए । धरानले फाइनलमा प्रवेशका लागि आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग प्रतिस्पर्धा गर्नेछ । आयोजक काँकडभिट्टाले भारतीय टोली जर्जियन एफसीलाई ४–२ ले हराउँदै अन्तिम चार स्थान पक्का गरेको थियो । 

ब्ल्याक बुल्सको सुरुवाती अग्रता
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ब्ल्याक बुल्सले ५९औँ मिनेटमा धरानविरुद्ध १–० को अग्रता लियो । असिबेक अरिफजोनोभले ब्ल्याक बुल्सलाई अग्रता दिलाएका हुन् । १८ यार्ड बक्सभित्रबाट इस्लोम्जोन अब्दुकोडिरोभको पासमा अनमार्क रहेका असिबेकले हेडिङ गोल गरेका थिए । खेलमा ८३औँ मिनेटमा धरानले १–१ बराबरी गोल ग¥यो । सुगम जिमीले धरानलाई खेलमा फर्काएका हुन् । सुरज रसाइलीले मैदानको बायाँ भागबाट मिलाएको पासमा वैकल्पिक खेलाडी सुगमले सदुपयोग गर्दै टोलीको हार टारेका हुन् । 

मिलन राईको कप्तानीमा रहेको धरानले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन । टोलीमा मिलानसहित विक्रम धिमाल, तपन कार्की, रोमन लिम्बू, मौसम सुब्बाजस्ता खेलाडी समावेश थिए । आहारारा गोल्डकप विजेता ब्ल्याक बुल्सले नेपालका सान्जियो लिम्बू, सुजात डंगोल र सामीप्य सुवेदीलाई टिममा समावेश गरेको थियो । केपी ओली कपको पहिलो खेलमै पराजित भएपछि टोलीले मेचीनगर गोल्डकप खेलेको हो । 

सुझावित समाचार