सरकारले आन्तरिक रोजगार प्रवद्र्धन दशकको घोषणा गरेको छ । सोमबारदेखि काठमाडौंमा सुरु भएको ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१’ को अवसर पारेर रोजगार प्रवर्द्धन दशकको घोषणा गरिएको हो । प्रधानमन्त्री केपी ओलीले सम्मेलनको उद्घाटन गर्दै आन्तरिक रोजगार प्रवर्द्धन दशकको घोषणा गरेका हुन् । उनले मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको असाधारण भूमिका रहेको बताउँदै उद्यमशीलताको विकास र आधुनिकतातर्फको यात्रालाई तीव्रताका साथ अघि बढाउन सबैलाई आग्रह गरे ।
‘यस आन्तरिक रोजगारी पवद्र्धन दशक घोषणा मात्रै नभई उद्यमशीलता प्रवर्द्धन दशक हो, आधुनिकीकरणतर्फको यात्राको दशक हो,’ उनले भने, ‘रोजगारी सिर्जनाका लागि ठोस पहल हुनुपर्छ, सफलतापूर्वक अघि बढ्नुपर्छ ।’ अहिले फलाम खानी सञ्चालन, पेट्रोलियम उत्खनन, ऊर्जामा क्रान्तिलगायतको काम भइरहेको भन्दै उनले यसले रोजगारी सिर्जना गर्ने बताए । त्यस्तै, उद्यमशीलताको विकास र आधुनिकतातर्फको यात्रालाई तीव्रताका साथ अघि बढाउन आग्रह गरे ।
‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ नारासहित सुरु भएको सम्मेलनमा राष्ट्रिय सीप विकास प्रतिष्ठान र रोजगारदाता कम्पनीबिच तथा श्रम मन्त्रालय र स्विस एजेन्सीबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ । कार्यक्रममा उद्योगमन्त्री दामोदर भण्डारीले उद्योग र उद्यमशीलता नबढेसम्म रोजगारी नबढ्ने भन्दै यस क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । उनले रोजगारी वृद्धिका लागि औद्योगिक क्षेत्रको प्रवर्द्धन गर्नुपर्ने बताए । उनले निजी क्षेत्र उद्योग, व्यापार र उद्यमशीलताको पुँजी बजारलाई बढाएर त्यसलाई श्रमसँग जोड्नुपर्नेमा जोड दिए ।
उक्त अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले ‘आन्तरिक रोजगारी प्रवद्र्धन दशक’ घोषणाबाट नयाँ युगको थालनी भएको बताए । स्वदेशमा मर्यादित, सुरक्षित र आकर्षक रोजगारी सिर्जना गराई वैदेशिक रोजगारीमा रहेकालाई समेत फर्काउने लक्ष्यसहित घोषणा गरिएको ‘आन्तरिक रोजगारी प्रवद्र्धन दशक’ले श्रम तथा रोजगारीको क्षेत्रमा मात्रै नभई अर्थतन्त्रमै कोसेढुंगा साबित हुने बताए ।
‘आगामी १० वर्षमा मुलुकको उद्यमशीलताको आधार, उत्पादकत्व र रोजगारी सिर्जना बढाउँदै श्रम शक्तिको न्यायोचित मूल्यांकन हुने गरी, श्रमिकको आय बढ्ने गरी विदेशमा रोजगारमा रहेका नेपालीलाई मर्यादित र सुरिक्षत तरिकाले फर्काएर ल्याई यो मुलुकलाई अघि बढाउने यो यात्रा सुरु गरेका छौँ,’ उनले भने ।
प्रधानमन्त्रीका आर्थिक सल्लाहकार पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले जनसांख्यिक अवसरको लाभ लिन अहिले नै बल गर्नुपर्ने बताए । नेपाल विकासशील मुलुकमा रहँदा–रहँदै बुढ्यौली जनसंख्या भएको देशमा पुग्ने खतरा रहेको भन्दै उनले यसप्रति सजग हुनुपर्ने बताए । ‘हाम्रो देशमा जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा कम रहेको छ, अहिलेको बेरोजगारी र कामको अभाव रहेको स्थितिलाई प्रतिस्थापन गर्नुपर्छ । तर, दीर्घकालमा भने कमसेकम प्रतिस्थापन दरमा जनसख्ंया राखिएन भने विकासको एउटा चरणमा नपुग्दै हामी वृद्धिहरूको देशमा प्रवेश गर्ने डर छ, यसप्रति सजक हुनुपर्छ,’ उनले भने, ‘हाल ६५.२ प्रतिशत जनसंख्या आर्थिक रूपमा सक्रिय रहेको छ, यो संख्यालाई कुनै न कुनै काममा संलग्न गराएर आर्थिक वृद्धि गरेर भविष्यमा बुढ्यौली हुँदासमेत पुग्ने गरी अर्थतन्त्रको विकास गर्नुपर्छ ।’
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक विकास र स्वदेशमै रोजगारी सिर्जनाका लागि औद्योगिक वातावरण निर्माण पहिलो प्राथमिकता हुनुपर्ने बताए । उनले रोजगारी सिर्जना र लगानीकर्तालाई आकर्षित गर्न राजनीतिक र नीतिगत स्थिरता आवश्यक रहेको बताए । नेपाल सरकारले आगामी १० वर्षलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको घोषणा गरेको सन्दर्भमा उत्पादन र उत्पादकत्व विस्तार तथा आन्तरिक रोजगारीको आधार खोज्न सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेको समेत अध्यक्ष ढकालले बताए ।