बालविवाह गर्ने युवकसहित बालिका पक्राउ

सोमबार, २६ फागुन, २०८१
डिजिटल संस्करण

सिराहाको नवराजपुर भगवतीपुर गाउँमा बालिकाको परिवारलाई झुक्याएर बालविवाह गर्ने युवकसहित बालिकालाई प्रहरीले पक्राउ गरेको छ । सिराहा सुखीपुर नगरपालिका–१ का करिब २८ वर्षीय विवाहित युवक दीपेन्द्र सदायले भगवतीपुर गाउँकी १५ वर्षीया बालिकालाई विवाह गरेका थिए । प्रहरीका अनुसार बालविवाह कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नाया उपरीक्षक वीरेन्द्रकुमार पासवानले पक्राउ गरिएका दुवैजनालाई जिल्ला अदालत सिराहाबाट मंगलबारसम्म पाँच दिनका लागि थप अनुसन्धानको म्याद लिएको जानकारी दिए। 

स्थानीय महिलाले अविवाहित रहेको भन्दै झुक्याएर बालविवाह गर्ने सदायको बारेमा इलाका प्रहरी कार्यालय लहानमा किटानी जाहेरी दिएका थिए। खोजतलासको क्रममा दुवैजनालाई पक्राउ गरी बालविवाहको कसुरअन्तर्गत अनुसन्धान सुरु गरिरहेको उनको भनाइ छ। पक्राउ परेका युवककी जेठी श्रीमतीले बहुविवाहसम्बन्धी किटानी जाहेरी दिए बहुविवाह कसुरमा समेत अनुसन्धान गरिने उनले बताए ।  

भगवतीपुर गाउँकी रिंकु सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्युको घटनापछि जातीय हिसाबले आउजाउ गरिरहेका ती युवकले बालिकाको परिवारलाई प्रभावमा पारेर विवाह गरिदिन सहमत गराएको आरोप छ । रोजगारीका लागि बालिकाका बाबु विदेशमा रहेक र आमा, आफन्तलाई प्रभावमा पारेका युवकले बालिकाको घरमै पुगेर १७ फागुनमा विवाह गरेको स्थानीयले बताए । 

१७ फागुनको राति करिब ९ बजेतिर भारतीय नम्बर प्लेटको मोटरसाइकलमा एकजना साथीसहित आएका युवकले बालविवाह गर्न लागेको थाहा पाएपछि स्थानीयले इलाका प्रहरी कार्यालय महेशपुर पतारीलाई खबर गरेका थिए । विवाह रोक्न खोजेको थाहा पाएपछि युवक बालिका लिएर मोटरसाइकलमा फरार भएका थिए । पछि बालिकासँगको विवाहको भिडियो क्लिप टिकटकमार्फत सेयर गरेपछि स्थानीय महिलाले प्रहरीमा जाहेरी दिएका थिए। 
 

सुझावित समाचार