राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छलकपट गरेर सरकारले संसद् प्रवेशमा रोक लगाएको आरोप लगाएका छन्। सहकारी ठगी मुद्दाको पहिलो तारिख बुझ्न सोमबार रुपन्देही जिल्ला अदालत भैरहवा पुगेका लामिछानेले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।
‘सकारले मलाई पुर्न भनेर खनेको खाल्डो सानो भएको भए मलाई मात्र पुर्न मिल्थ्यो। तर, सरकारले यति ठुलो खाल्डो खन्यो कि त्यसमा ती सबैजना जाकिन्छन्,’ जिल्ला अदालतबाहिर लामिछानेले भने।
उनलाई आगामी वैशाख २३ गते अर्को तारिख दिइएको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए। लामिछानेले सोमबार ७ नम्बर फाँटमा तारिख बुझेका थिए।
जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई गत ५ माघमा रुपन्देही जिल्ला अदालतमा पूरक मुद्दा दर्ता गरेको थियो।
सो मुद्दामा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले १३ माघमा तत्काल प्राप्त प्रमाणका आधारमा लामिछानेले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिएको भन्दै पछि ठहरेबमोजिम हुने गरी एक करोड धरौटीमा छोड्ने आदेश गरेको थियो।