राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ। राप्रपा सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत महानगरलाई जरिवाना बुझाएको जानकारी दिएका हुन्।
आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा विमानस्थलमा भेला भएका राजावादीहरूले सडकमा फोहोर र बिरुवामा क्षति गरेको भन्दै महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरिवाना गरेको थियो। सुरुमा जरिवाना नतिर्ने भनेको राप्रपाले नागरिकस्तरबाट विरोध भएपछि जरिवाना तिरेको हो।
‘हामी राप्रपा सुशासन मान्छौँ र विधिको शासन मान्छौँ। राजाको स्वागतमा आएका लाखौँ आमाबुबा, दाजुभाइ, बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान्, महानगरपालिकाको निर्णयलाई हामी स्विकार्दछौँ। रु. एक लाख रुपैयाँ हामीले काठमाडौं महानगरपालिकाको खातामा दाखिला गरेका छौँ,’ शाहीले फेसबुकमा लेखेका छन्।
यसअघि २७ चैत ०८० मा पनि राप्रपाको प्रदर्शनबाट महानगरपालिकाको ट्राफिक आइल्यान्डमा क्षति पुगेको तथा फोहोरमैला भएको भन्दै महानगरपालिकाले ट्राफिक आइल्यान्ड मर्मतसम्भार गर्न २२२ रुपैयाँ ८१ पैसा असुल र फोहोरमैला व्यवस्थापन ऐनबमोजिम पाँच हजार रुपैयाँ जरिवाना गराएको थियो ।
यस्तै, गत ७ मंसिरमा दरबारमार्गस्थित खुला सडकमा जागरणसभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरपालिकाले एमालेलाई एक लाख रुपैयाँ जरिवाना तोकेको थियो ।
यसैगरी, सिंहदरबारको गेटबाहिर तोडफोड गरेको भन्दै महानगरले राप्रपा नेपाललाई २५ हजार पाँच सय रुपैयाँ जरिवाना तोकेको थियो। तर, एमाले र राप्रपा नेपालले अहिलेसम्म जरिवाना नतिरेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।