मदन भण्डारी लोकमार्गको उदयपुरको त्रियुगा नगरपालिका– ८ राजावास खण्डमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार त्रिनपा– ८ कै ६५ वर्षीया टीकामाया कार्कीको मृत्यु भएको हो ।
हिजो आइतबार दिउँसो बाटो (सडक) काट्नेक्रममा तीव्रगतिमा गाईघाटतर्फबाट मुकुर्ची बजार जाँदै गरेको प्र १– ०५–००१ प ८३५९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मृतक कार्की गम्भीर घाइते भएकी थिइन् । डिएसपी दोङले दुर्घटनास्थलबाट तत्काल उद्धार गरी अस्पताल गाईघाटमा ल्याई सामान्य उपचारपश्चात् थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको बताउँदै उपचारको क्रममा मृत्यु भएको बताए ।
ठक्कर दिने मोटरसाइकलचालक उदयपुर रौतामाई गाउँपालिका– ७ मुकुर्ची बस्ने वर्ष २२ का गजेन्द्र दाहाललाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिइएको छ । सोही मोटरसाइकलको पछाडि सवार उदयपुरगढी गाउँपालिका– ७ नेपालटार घर भई हाल गाईघाट बस्ने मीना तामाङ सामान्य घाइते भएको प्रहरीको भनाइ छ ।