ट्रम्पको भन्सार नीतिविरुद्ध मेक्सिको र क्यानडाभन्दा भिन्न शैली अपनाइरहेको चीन

मेक्सिको र क्यानडाले ट्रम्पको भन्सार नीतिमा राहत पाउन निरन्तर सञ्चार र चाप्लुसीको मार्ग अवलम्बन गरे पनि बेइजिङले भने प्रतिरोधको बाटो रोजेको छ

सोमबार, २६ फागुन, २०८१
डिजिटल संस्करण

पछिल्लो एक महिनाको अवधिमा निरन्तर सञ्चार र चाप्लुसीको माध्यमबाट, क्यानडा र मेक्सिकोले दुईपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउने भनेका भन्सारलाई सफलतापूर्वक रोक्न सफल भएका छन् वा कम्तीमा अस्थायी राहत पाएका छन् । उता क्यानडा र मेक्सिकोपछि अमेरिकी भन्सारको निसानामा रहेको चीनले भने फरक मार्ग अपनाएको छ । बक्सिङ खेलमा पहिलो चरणमा कुनै अनुभवी बक्सरले कुनै प्रहार नगरी शक्ति सञ्चय गरेजस्तै रणनीतिमा देखिन्छ चीन ।

यस शैलीमार्फत बेइजिङ चर्चामा आउनबाट त बचेको छ, तर भन्सारबाट भने बच्न सकेको छैन । ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता दुईपटक चिनियाँ आयातमाथि भन्सार बढाइसके । फेब्रुअरी ४ मा पहिलोपटक सबै चिनियाँ आयातमा १० प्रतिशत भन्सार लगाएका ट्रम्पले गत हप्ता पुनः १० प्रतिशत भन्सार थपे । योसँगै संयुक्त राज्य अमेरिका आयात हुने चिनियाँ वस्तुमाथि लाग्ने भन्सारदर औसतमा ३३ प्रतिशत पुगेको छ । जबकि, सन् २०१७ मा ट्रम्पले पहिलो कार्यकाल सम्हाल्नुअघि अमेरिका आयात हुने चिनियाँ सामानमाथि जम्मा ३ प्रतिशत भन्सार कर थियो । 

ट्रम्पले पहिलो कार्यकालमा १० प्रतिशत भन्सार शुल्क लगाए । उनीपछि आएका जो बाइडेनले ट्रम्पको भन्सारलाई निरन्तरता दिए । सुस्त अर्थतन्त्रलाई पुनर्जीवित गर्ने प्रयासमा रहेको चिनियाँ नेताहरूका लागि ठुलो बजार अमेरिकामा भन्सार वृद्धि सुखद समाचार होइन । अमेरिकी भन्सार वृद्धिले चिनियाँ अर्थतन्त्रमा गम्भीर असर पार्ने देखिँदादेखिँदै पनि चिनियाँ नेताहरूले त्यसलाई रोक्न उल्लेख्य प्रयास गरेका छैनन् जुन आफैँमा अनौठो छ । 

ट्रम्पको कार्यकालमा हरेक राजनीतिक भेटघाटको जसरी चर्को प्रचारवाजी भइरहेको छ, त्यसप्रतिको चिनियाँ अरुचिले यसमा भूमिका खेलेको हुन सक्ने विज्ञ बताउँछन् । चिनियाँहरू खुलाभन्दा गोप्य कूटनीति मनपराउँछन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ ट्रम्पसँगको सम्भावित भेटमा हुने लेनदेनपूर्ण छलफल प्रेसमा आउला भनेर चिन्तित भएको बताइन्छ । उनका लागि त्योभन्दा पनि खराब ओभल अफिसमा क्यामेराका अघिको चर्काचर्की हुनेछ । 

‘राष्ट्रपति सी अधिनायकवादी नेता भएकाले देशको सत्तारूढ पार्टी, सेना र जनताले उनलाई कसरी हेरिरहेका छन् भन्ने कुराले ठुलो महत्व राख्छ । उनी कमजोर देखिन चाहदैनन्,’ ‘काउन्सिल अन फरेन रिलेसन्स’का एसिया अध्ययनका शीर्ष फेलो रस दोसीले भने । दोसी यसअघिको बाइडेन प्रशासनमा ‘नेसनल सेकुरिटी काउन्सिल’मा चीन र ताइवानका लागि वरिष्ठ उपनिर्देशक थिए । 

ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता दुईपटक चिनियाँ आयातमाथि भन्सार बढाइसके । फेब्रुअरी ४ मा पहिलोपटक सबै चिनियाँ आयातमा १० प्रतिशत भन्सार लगाएका ट्रम्पले गत हप्ता पुनः १० प्रतिशत भन्सार थपे । योसँगै संयुक्त राज्य अमेरिका आयात हुने चिनियाँ वस्तुमाथि लाग्ने भन्सारदर औसतमा ३३ प्रतिशत पुगेको छ ।

त्यसबाहेक ट्रम्पको व्यापार युद्ध गर्ने प्रतिबद्धता अटल र गहिरो भएकाले सम्भवतः छोटो समयमा यसलाई रोक्न सकिँदैन भन्ने विश्वास बेइजिङमा छाएको छ । चिनियाँ आयातमाथि भन्सार लागाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुको कारण चीनबाट अमेरिका आपूर्ति हुने फेन्टानिल नियन्त्रणमा पर्याप्त कदम चाल्न बेइजिङको असफलतालाई ट्रम्पले जिम्मेबार ठहराएका थिए । जवाफमा बेइजिङले लागुऔषध व्यापार रोक्न वासिङटनसँग सहकार्य गरिरहेको र यसमा प्रगति भएको भनेर प्रतिवाद ग¥यो । संयुक्त राज्य अमेरिकामा विभिन्न लागुऔषधको उच्च प्रयोगबाट हुने मृत्यु सन् २०२३ को तुलनामा गत वर्ष घटेको तथ्यांकले पनि देखाउँछ । तथ्यांकले समेत देखाउने सुधारको कुरा अमेरिकाले उठाएकाले चिनियाँ अधिकारीले यो मुद्दा व्यापार युद्धका लागि बहाना मात्र भएको निष्कर्ष निकालेका छन् । 

‘अमेरिकाले चिनियाँ आयातमाथि भन्सार बढाउन फेन्टानिलजस्तो कमजोर मुद्दालाई बहानाको रूपमा प्रयोग गरेको छ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले यसै हप्ता भने । तथापि क्यानडा र मेक्सिकोजस्तै चिनियाँ अधिकारीहरूले ट्रम्प प्रशासनसँग सञ्चारमा रहेको भए भन्सार निलम्बनको सम्भावना रहेको एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका उपाध्यक्ष वेन्डी कटलरको विचार छ । ‘तर, ट्रम्पले क्यानडामाथि भन्सार वृद्धि घोषणा गरेको केही घण्टाभित्रै पुनः क्यानडाको काठ र दुग्धजन्य पदार्थलाई निसाना बनाउन थालेका छन् । यसले उनको धम्कीको कुनै अन्त्य नभएको सन्देश चीनले पाएको छ । चिनियाँहरूले जति प्रयास गरे पनि अमेरिकाले क्यानडामाथि गरेजस्तै व्यवहार आफूमाथि हुन सक्ने आकलन गरेको हुन सक्छ,’ कटलरले भनिन् । 

फराकिलो र स्थायी प्रकृतिको व्यापार युद्धको सम्भावना बढ्दै गएको अवस्थामा चीन अहिले अल्पकालीन चाप्लुसीमा ध्यान केन्द्रित गर्नुको सट्टा भावी युद्धका लागि तयारी गरिरहेको देखिन्छ । चीनले आफूले भविष्यमा सक्ने प्रतिशोधात्मक विकल्पको झलक दिइसकेको छ । फेब्रुअरीमा, ट्रम्पको पहिलो भन्सार वृद्धिको जवाफमा बेइजिङले अमेरिकी ऊर्जा र अन्य चुनिएका उत्पादनको आयातमा कर लगाएको थियो । उसले यसै साता सोयाबिनलगायत कैयौँ कृषि उत्पादनमाथि भन्सार घोषणाको तयारी गरेको छ । 

चीनले ठुला अमेरिकी कम्पनीलाई पनि निसाना बनाएको छ । जस्तो चीनमा गुगलविरुद्ध एन्टिट्रस्ट(एकाधिकारविरोधी) अनुसन्धान सुरु गरेको छ । विभिन्न अमेरिकी कम्पनी उसको ‘अविश्वसनीय संस्थाहरूको सूची’मा पर्न थालेका छन् । चीनले अमेरिकालाई महत्वपूर्ण खनिजको आपूर्तिमा रोक लगाएको छ । यसले चीनसँग भएका अमेरिकाविरुद्ध चाल्ने विकल्पको कमी नभएको देखाउँछ । 

चिनियाँ अधिकारीहरू वासिङटनसँग थप उग्र रूपमा प्रस्तुत हुन थालेका छन् । जस्तो दोस्रो भन्सार वृद्धिको प्रतिक्रियामा, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिनले संयुक्त राज्य अमेरिकाविरुद्ध असामान्य आक्रामक लाइन लिए । ‘यदि अमेरिकाले युद्ध नै चाहेको हो भने हामी हरेक युद्ध लड्न तयार छौँ । चाहे त्यो कर युद्ध होस्, व्यापार युद्ध होस् वा अन्य कुनै पनि प्रकारको युद्ध नै किन होस्,’ लिनले भने । 

राष्ट्रिय जनकांग्रेसको साइडलाइनमा शुक्रबार आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङ यीले भन्सार वृद्धिले संयुक्त राज्य अमेरिकालाई पनि हानि पु¥याउने बताए । वाङले मेलमिलापको सम्भावनालाई खुला रहेको संकेत गरे । ‘सहयोगले पारस्परिक लाभ र दुवै पक्षलाई फाइदा पुर्याउनेछ,’ वाङले भने । तथापि, चीनले आफूमाथि चालिएको दबाबको प्रतिक्रियामा प्रतिकारात्मक उपाय उठाउने पनि उनले बताउन बिर्सिएनन् । 

अमेरिकाको तर्फबाट पनि संवादको सम्भावना पूरै मरिसकेको छैन । बिहीबार(मार्च ६)को पत्रकार सम्मेलनमा ट्रम्पले ‘राष्ट्रपति सीसँग राम्रो सम्बन्ध’ भएको बताउँदै उनीसँग सम्पर्कमा रहेको संकेत गरे । तथापि, उनले पदभार ग्रहण गरेपछि सीसँग प्रत्यक्ष फोन कल भए नभएको स्पष्ट पार्न चाहेनन् । ह्वाइट हाउसले पनि यसबारे गरिएको प्रश्नको जवाफ दिएको छैन ।

रिपोर्टमा आएअनुसार ट्रम्पले आफ्नो शासनको पहिलो १०० दिनमै सीसँग ह्वाइट हाउसमा भेट्न रुचि व्यक्त गरेका छन् । ट्रम्पको पहिलो कार्यकालमा सीले ट्रम्पको स्वागतमा चीनमा रातो कार्पेट ओछ्याएका थिए । सन् २०१७ को त्यस भ्रमणमा सीले ट्रम्पका लागि चीनको चर्चित ‘फरबिडन सिटी’मा अभूतपूर्व रात्रिभोज दिएका थिए । ‘सीले त्यस भ्रमणमा ट्रम्पलाई त्यस्तो द्विपक्षीय व्यवहार दिए, जुन उनले अहिलेसम्म कुनै पनि अन्य अमेरिकी राष्ट्रपतिलाई दिएका छैनन्,’ दोसीले भने । तर, त्यस सत्कारले काम नगरेको भान चिनियाँहरूमा परेको छ । सायद यो मान्छेलाई मनाउन सकिँदैन भन्ने तिनलाई परेको हुन सक्छ ।

व्यापार युद्ध बढ्दै जाँदा ट्रम्पको चाप्लुसी गर्ने विषय अझै पनि चीनको विकल्पको सूचीमा हुन सक्छ । तर, अहिलेको लागि चीन हतारमा देखिँदैन । ‘आगामी केही महिनाभित्रै ट्रम्पले सी जिनपिङसँग भेटे भने म छक्क पर्नेछैन,’ एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटकी कट्लरले भनिन्, ‘तर त्यस्तो भेटअघि चीन तिनको नेता अपमानित नहुने कुराको बलियो आश्वासन खोज्नेछ । ’
– फरेन पोलिसीबाट

सुझावित समाचार