आर्मीलाई रोक्दै थ्री स्टार विराट गोल्डकपको फाइनलमा

आइतबार, २५ फागुन, २०८१
डिजिटल संस्करण

थ्री स्टार क्लब काठमाडौं विराटनगरमा जारी विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै थ्री स्टार फाइनलमा पुगेको हो ।

जितको लागि थ्री स्टारका प्रशान्त लिम्बू, दिपेश घले र नविन लामाले समान १–१ गोल गरे । थ्री स्टारले खेल सुरु भएको पहिलो एक मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दिपेश घलेले निकालेको क्रस पासलाई प्रशान्तले चलाखीपूर्ण ढंगले जाली चुमाए ।

दोस्रो गोल खेलको २८औं मिनेटमा भयो । आशिष चापागाईले निकालेको पासलाई दिपेशले आकर्षक गोलमा परिणत गरि अग्रता दोब्बर बनाए । तेस्रो गोल ८१औं मिनेट भयो । नविन लामाले गोल गर्दै टिमको जित सुनिश्चत गरे । 

आर्मीको तर्फबाट कप्तान नवयुग श्रेष्ठ र निरज चौधरीले समान १–१ गोल फर्काए । नवयुगले खेलको ८३आँै मिनेटमा गोल गरे । दोस्रो गोल पेलान्टी सुटआउटबाट आर्मीका निरज चौधरीले गरे । आर्मीका निसान्त राईलाई दोस्रो हाफको अतिरिक्त समयमा डिबक्सभित्र थ्री स्टारका खेलाडीले फल खेलेपछि रेफ्री श्याम दनुवारले पेनाल्टी दिएका थिए । 

जितसँगै उपाधिको लागि थ्री स्टारले सोमबार हुने अन्तिम सेमिफाइनल खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइजको विजेता टिमसँग प्रतिस्पर्धा गर्ने छ । 

पहिलो हाफमा २–० गोलले पछि परेपछि आर्मी दबाबमा परेको थियो । पहिलो हाफ आर्मीको लागि निकै संघर्षपूर्ण बन्यो ।  खेल बराबरीमा ल्याउन निकै संघर्ष गरेको थियो तर सफल हुन सकेन । दोस्रोे हाफपछि आक्रमक खेल पस्किए पनि आर्मीले पाएको अवसर खेर फाल्दा सेमिफाइलनबाट घर फर्किन बाध्य भयो । केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन । खेल अवधिभरीमा आर्मीका एक दर्जन प्रहार विफल भएका थिए । आर्मीको कप्तान नवयुग श्रेष्ठको आधा दर्जन प्रहारमा थ्री स्टारका डिफेन्डर र गोलकिपर बाधक बनेका थिए । 

आर्मीका फत्तेमान घलेले २२औं मिनेटमा गरेको प्रहार बारमाथिबाट बाहिरियो । २८ मिनेटमा आर्मीका कप्तान नवयुक श्रेष्ठले गरेको कडा प्रहार थ्री स्टारका गोल रक्षक विवेक मगर बाधक बने । कप्तान श्रेष्ठले गरेको बारम्बारको कडा प्रहार थ्री स्टारका गोल किपर मगरले विफल पारिदिए । ५६औं मिनेटमा आर्मीका निरज चौधरीले निकालेको क्रस पासलाई नवयुगले क्लियर गर्न नसक्दा गोल हुन सकेन् । निरज चौधरीले ७०आंै मिनेटमा डिबक्सभित्रबाट नवयुगलाई निकालिएको बललाई क्लियर गर्न सकेनन् । 

त्यसपछि आर्मीले कुनै अवसर सिर्जना गर्न नसक्दा उपाधि होडबाट बाहिरियो । प्रतियोगिताको प्लेयर अफ द म्याच थ्री स्टारका प्रशान्त लाक्सान लिम्बू घोषित भए । उनले नगद ११ हजार पाए ।  

०७४ सालमा पनि थ्री स्टारले विराट गोल्डकपको फाइलनमा आर्मीलाई ३–० गोलले हराउँदै उपाधि उचालेको थियो ।
 

सुझावित समाचार