मकवानपुर प्रहरीले हेटौँडाको छुट्टाछुट्टै दुई स्थानबाट अवैध लागुऔषध खैरो हेरोइनसहित चारजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका– १४ का १९ वर्षीय रोजल ढुंगाना, हेटौँडा– १० मा कोठा भाडामा बस्दै आएकी २२ वर्षीया बिबिका लामा तथा एक नाबालक र एक नाबालिका रहेका छन्।
प्रहरीका अनुसार हेटौँडा– १०, भीष्ममार्गबाट हेटौँडा– १४ का १९ वर्षीय ढुंगानालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो। उनको साथबाट २ वटा पुरियामा रहेको २७० मिलिग्राम खैरो हेरोइन फेला पारेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए। वडा प्रहरी कार्यालय हेटौँडाको टोलीले बा.प्र.३–०२–०२६ प ६२७२ नम्बरको मोटरसाइकलमा रहेका ढुंगानालाई शंकाको आधारमा खानतलासी गर्दा लागुऔषध फेला पारेको हो।
यस्तै, प्रहरीले हेटौँडा– १० स्थित आनन्द टोलबाट २ ग्राम ६४० मिलिग्राम खैरो हेरोइनसहित बाँकी तीनजनालाई पक्राउ गरेको हो। रातको समयमा लागुऔषध कारोबार भैरहेको भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौँडाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूको शरीर तथा कोठा खानतलासीको क्रममा लुकाएर राखेको अवस्थामा खैरो हेरोइन फेला परेको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिए।
पक्राउ परेका ढुंगानालाई ८ दिन र लामासहितका तीनजनालाई जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए।