सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीअन्तर्गतको ‘विमेन्स फोरम’ले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘रचनात्मक साहित्यिक प्रतियोगिता’ गरेको छ । फोरमले कम्पनीमा कार्यरत सबै महिला कर्मचारीबिच रचनात्मक साहित्यिक प्रतियोगिता आयोजना गरेको हो ।
भर्चुअल माध्यममार्फत गरिएको कार्यक्रममा करिब एक सय ८० जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागिता जनाएका कर्मचारीमध्येबाट उत्कृष्ट पाँचजनालाई रचना प्रस्तुत गर्ने अवसर प्रदान गरिएको थियो भने प्रथम, द्वितीय र तृतीय हुनेलाई कम्पनीको व्यवस्थापन टिमले पुरस्कार वितरण गरेको थियो ।
कार्यक्रमकी अतिथि नेपाल धितोपत्र बोर्डकी उपकार्यकारी निर्देशक दीपा दाहालले वित्तीय उद्योगमा महिलाको भूमिकाबारे अनुभव साझा गर्दै उनीहरूको योगदान, चुनौती र आगामी बाटोबारे प्रकाश पारिन् । साथै, उनले महिला सशक्तीकरणका लागि महिलाले नै पहल गर्नुपर्ने र पुरुषले पनि साथ दिनुपर्ने कुरामा जोड दिइन् ।
त्यस्तै, फोरम संयोजक रीता पाठकले आचारसंहिता तयार गरी महिलाको भूमिकालाई प्रोत्साहन र समर्थन गर्ने प्रतिबद्धता जनाएकी थिइन् । साथसाथै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले सुरक्षित र समावेशी कार्यस्थल बनाउने कम्पनीको प्राथमिकता रहेको र सोहीअनुसार कार्यक्रम गरिएको जानकारी गराए ।