दलाई लामाले विद्रोह गरेको दिन १० मार्चमा चीनविरोधी गतिविधि हुने सूचनापछि सरकारले बढायो निगरानी
सरकारले देशका विभिन्न स्थानमा रहेका तिब्बती शरणार्थी शिविरमा निगरानी बढाएको छ । १० मार्च (२६ फागुन) मा शरणार्थीहरूले चीनविरोधी गतिविधि गर्ने सूचनापछि शरणार्थी शिविरमा निगरानी बढाइएको हो । नेपालस्थित चिनियाँ दूतावासले कूटनीतिक च्यानलमार्फत यसबारे नेपाल सरकारसँग चासो राखेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी दिनेश आचार्यले मुलुकभरका तिब्बती शरणार्थी शिविरमा प्रहरीको निगरानी बढाइएको बताए । ‘तिब्बती शरणार्थी क्याम्पमा निगरानी बढाइएको छ । कुनै मुलुकको विरुद्ध कसैले पनि नेपाली भूमि प्रयोग गरी गतिविधि गर्न सक्दैन । त्यसप्रति नेपाल प्रहरी सचेत छ । नेपाल प्रहरीले यस्ता गतिविधिमा आवश्यक सुरक्षा सतर्कता अपनाउन सक्छ,’ उनले भने ।
देशका विभिन्न जिल्लामा रहेका १७ शिविरमा १५ हजार ५१४ तिब्बती शरणार्थी रहेको गृह मन्त्रालयको तथ्यांक छ । जसमध्ये सबैभन्दा धेरै शरणार्थी काठमाडौंमा छन् । काठमाडौं उपत्यकाका बौद्ध, जोरपाटी, स्वयम्भू, जाउलाखेल र फर्पिङमा शरणार्थीको शिविर छ । जहाँ पाँच हजारभन्दा धेरै शरणार्थी रहेको गृहको तथ्यांक छ । ती क्षेत्रमा चीन विरोधी गतिविधि हुने सूचनापछि सरकारले निगरानी बढाएको हो ।
नेपालले एक चीन नीतिप्रति प्रतिबद्धता जनाउँदै आएको छ । प्रधानमन्त्री केपी ओलीको पछिल्लो चीन भ्रमण तथा पूर्वमाओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष रहेका परराष्ट्रमन्त्री/गृहमन्त्री नारायणकाजी श्रेष्ठको पछिल्लो चीन भ्रमणमा चिनियाँ पक्षलाई नेपाली भूमि चीनविरुद्ध दुरूपयोग नहुने आश्वस्त पारेपछि चीनले १४ वटा नेपाल–चीन परम्परागत नाका खोलेको थियो । किमाथांका नाकामा श्रेष्ठ पुगेर नाका खुलेको औपचारिक कार्यक्रममा सहभागी भएका थिए । तीन महिनाअघि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पनि चिनियाँ समकक्षी वाङ् यीलाई यसबारे आश्वस्त पारेकी थिइन् ।
चिनियाँ कम्युनिस्ट पार्टीले तिब्बत समायोजन गरेपछि तिब्बती धर्मगुरु दलाई लामाले १० मार्च १९५९ मा विद्रोह गरेका थिए । तर, विद्रोह सफल हुन सकेन । त्यसपछि लामा भेष बदलेर तिब्बतबाट भागेका थिए । भारतको हिमाञ्चलस्थित धर्मशालामा पुगेका उनी अहिले पनि सोही धर्मशालामा बस्दै आएका छन् । निर्वासित तिब्बतीहरूले सोही दिनलाई आन्दोलन दिवसका रूपमा मनाउँदै आएका छन् । निर्वासित उनीहरूले विदेशी भूमिमै निर्वासित सरकार गठन गरेका छन् । उनीहरूले विदेशी भूमिमै तिब्बत युथ कंग्रेस (टिवाइसी) र तिब्बती महिला एसोसिएसन (टिडब्लुए) नामका गैरसरकारी संस्था गठन गरेका छन् । सोही संस्थामार्फ उनीहरूले आत्मदाहलगायतका हिंसात्मक गतिविधि गर्दै आएका छन् ।
२२ साउन ०७० मा ४० वर्षका तिब्बती नागरिकले बौद्ध स्तुपा अगाडि आत्मदाह गरेका थिए । २ फागुन ०७९ मा पनि स्तुपाअगाडि नै तिब्बती नागरिकले आत्मदाह गरेका थिए । दुवै घटनामा संलग्न तिब्बती शरणार्थीको उपचारका क्रममा मृत्यु भएको थियो । जसलाई पश्चिमा सञ्चारमाध्यमले महत्वका साथ प्रचारप्रसार गरेका थिए । त्यस्तै घटना हुन सक्ने भएपछि नेपाल प्रहरीले बौद्ध र जोरपाटी क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले तिब्बती शरणार्थी शिविरमा निगरानी बढाइएको बताए । ‘१० मार्चमा शिविरआसपासका क्षेत्रमा कुनै पनि अप्रिय गतिविधि नहोस् भनेर प्रहरी सचेत छ । मातहतका सबै शिविरमा प्रहरीको निगरानी छ । कुनै पनि अप्रिय गतिविधि रोक्न प्रहरी सक्षम छ,’ उनले भने ।
निर्वासित धर्मगुरु दलाई लामा शान्तिपूर्ण तवरले तिब्बती समस्या हल गर्न चाहन्छन् । तर, पूर्वराजबन्दीहरूबाट गठित गैरसरकारी संस्थाले भने हिंसात्मक तवरबाट मात्रै समस्या समाधान हुन सक्ने धारणा राख्दै आएको छ । टिवाइसीका नेपालसहित विश्वभर ८७ वटा क्षेत्रीय शाखा छन् । जसमध्ये नेपालमा चारवटा शाखा छन् । नेपालमा रहेका चारवटै शाखा हिंसात्मक गतिविधिको पक्षमा छन् । टिवाइसीका ४० हजार कार्यकर्ता छन् । तर, भारतमा रहेका आठवटा क्षेत्रीय शाखाले भने टिवाइसी केन्द्रको नीतिप्रति असहमति राख्दै लामाको नीतिको पक्षमा वकालत गरिरहेको छ ।
१४ मार्च २००८ मा तिब्बतको ल्हासामा स्वतन्त्रताका पक्षमा उनीहरूले प्रदर्शन गरेका थिए । तर, चिनियाँ सरकारले आन्दोलनलाई नियन्त्रणमा लिने क्रममा १५ तिब्बतीको मृत्यु भएको थियो । त्यसको सम्झनामा पनि यसपालि नेपालमा कार्यक्रम गर्न लागेको सूचना पाएपछि सरकारले मार्च महिनाभर शरणार्थी गतिविधिमा कडाइ गर्न लागेको हो ।