ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा एक मजदुर मृत फेला परेका छन्। माथिल्लो काबेली जलविद्युत आयोजनामा कार्यरत मजदुर मृत अवस्थामा भेटिएका प्रहरीले जानकारी दिएको छ।
ताप्लेजुङकै सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ४७ वर्षीय धनप्रसाद भण्डारी शनिबार मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले बताए। सिरिजङ्घा गाउँपालिका–५ पेदाङको मुक्तुरा भिरको फेदी काबेली खोलामा भण्डारीको शव फेला परेको हो।
खोलाभित्र ढुङ्गाको चेपमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए। शुक्रबार बिहान जलविद्युत आयोजनाको काम गर्न गएका भण्डारी बेलुकासम्म नफर्किएपछि खोजी सुरु गरिएको थियो। स्थानीयले खोलाभित्र शव देखिएको भनी इलाका प्रहरी कार्यालय तेल्लोकमा खबर गरेपछि प्रहरी टोली घटनास्थल गएको थियो।
मुक्तुरा भिरबाट लडेर काबेली खोलामा परी भण्डारीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।