सडक खाली गराएर प्रधानमन्त्रीको ‘सवारी’

शनिबार, २४ फागुन, २०८१
डिजिटल संस्करण
  • भिभिआइपीको सवारीका नाममा नागरिकको स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने हकमा प्रतिबन्ध नलगाउन एक वर्षअघि नै सर्वोच्चको आदेश, तर सुर्खेत पुगेका प्रधानमन्त्री ओली सडक खाली गराउँदै ‘सवारी’ भएपछि सास्ती खेपेका यात्रुले गरे विरोध

प्रधानमन्त्री केपी ओली कर्णाली प्रदेश सभालाई सम्बोधन गर्न र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन शुक्रबार सुर्खेत आउँदा सडक नै खाली गराएर यात्रुलाई सास्ती दिइएको छ । अनाहक दुःख दिइएको भन्दै यात्रुले हर्न बजाएर विरोध गरेका छन् ।

प्रधानमन्त्री ओली विमानस्थलबाट रत्न राजमार्ग हुँदै आउँदा दैलेखीचोकदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालय नपुगुन्जेलसम्म यातायात ठप्प पारिएको थियो । पैदलयात्रुलाई समेत सडक किनारमै रोकिएको थियो । जबकि सर्वाेच्च अदालतले नै भिभिआइपीको सवारीका नाममा आमनागरिकको स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने हकमा प्रतिबन्ध नलगाउन आदेश गरेको छ ।

‘सवारी’का क्रममा बाटोमै रोकिएका सर्वसाधारणले प्रधानमन्त्री ओलीको गाडी दैलेखीचोक पुग्दासम्म निरन्तर हर्न बजाएर विरोध गरेका थिए भने कतिपयले नाराबाजी पनि गरेका थिए । ‘मुर्दावाद..., केपी ओलीको सवारी...’ भन्दै नाराबाजीसमेत भएको सार्वजनिक भिडियोमा हेर्न र सुन्न सकिन्छ । ‘साथीहरू प्रधानमन्त्री आउँदा दैलेखीचोकमा यसरी बाटो नै ब्लक गरेर जनतालाई सास्ती दिइएको छ, यहाँ देख्न सक्नुहुन्छ, गाडीको जाम छ, ओलीको सवारी हुँदैछ छ रे । कतिखरेसम्म हो हाम्रो नेताज्यूहरूको..,’ भिडियोमा एक यात्रुले भनेका छन् ।

गणतन्त्रमा पनि प्रधानमन्त्रीको सवारीमा सडक खाली गराउने प्रवृत्ति गलत भएकाले हर्न बजाएर विरोध गरिएको एक मोटरसाइक यात्रुले बताए । ‘प्रधानमन्त्रीको आगमन भइरहेको छ, गणतन्त्रमा पनि बाटो बन्द गरिएको अवस्था छ, सबैले हर्न बजाएर विरोध गरिरहनुभएको छ । हर्न लगाएर प्रधानमन्त्रीको विरोध भइरहेको छ, सुर्खेतमा विरोध प्रदर्शन भएको छ,’ सार्वजनिक अर्काे भिडियोमा एक युवाले भनेका छन् । 

कर्णाली प्रदेश सभामा विशेष सम्बोधन र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहका लागि प्रधानमन्त्री ओली सेनाको हेलिकोप्टरमार्फत मध्याह्न सुर्खेत विमानस्थल पुगेका थिए । त्यहाँबाट सुरुमा उनी दीक्षान्त समारोहमा सहभागी भएका थिए । 

सडक जाम र तामझामको नागरिकस्तरबाट विरोध भए पनि सर्वोच्च अदालतको आदेशविपरीत भिआइपी सवारीमा सडक खाली गर्ने प्रवृत्ति अझै बन्द भएको छैन । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले भने प्रधानमन्त्री आउने वेलामा सुरक्षा व्यवस्था कडाइ गरिँदा सवारी रोक्नुपरेको बताए । ‘त्यही वेला हतारमा भएकाले हर्न बजाएका होलान्,’ उनले भने, ‘सामान्य हो त्यो ।’

राजनीतिक विश्लेषक कृष्ण पोखरेलले विशिष्ट व्यक्तिहरूको सवारीका क्रममा नागरिकले दुःख पाउने अवस्था बने सरकारप्रति वितृष्णा बढ्ने बताए । ‘जनता हिजोको अवस्थामा छैनन्, धेरै सचेत भइसके । सडक अवरोध गरेर सवारी चलाउँदा सरकारले राम्रो काम गर्न सकेको छैन, नागरिकलाई दुःख मात्र दिइरहेको हो कि भन्ने भाष्य बन्न सक्छ,’ उनले भने, ‘अझ सर्वोच्च अदालतले नै आदेश दिएको अवस्थामा त सरकारको नेतृत्व गर्ने व्यक्तिले पालना गर्नका लागि मनन गर्नुपर्ने हो । यसप्रति जिम्मेवारीमा रहेको व्यक्तिहरू नै बढी सचेत र जवाफदेही बन्नुपर्छ ।’

निवासबाट विमानस्थल पुग्न हेलिकोप्टर प्रयोग गरेकी थिइन् तत्कालीन राष्ट्रपति भण्डारीले
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म हेलिकोप्टरमा गरेकी थिइन् । म्यानमारको चारदिने राजकीय भ्रमणमा निस्किँदा उनले  २९ असोज ०७६ मा सेनाको हेलिकोप्टर प्रयोग गरेकी थिइन् । सात किलोमिटरको दूरीमा पनि हेलिकोप्टर प्रयोग भएको भन्दै त्यतिखेर तीव्र आलोचना भएको थियो । त्यति मात्र होइन, भण्डारी शीतलनिवासबाट विमानस्थल हेलिकोप्टरमा जाँदा काठमाडौंको आकाश पनि खाली गराइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सम्पूर्ण उडान आधा घण्टाका लागि रोकिएका थिए ।  

सवारीमा राष्ट्रपति पौडेल सचेत

राष्ट्रपति रामचन्द्र पौडेल भने सवारीका क्रममा नागरिकले दुःख पाउने विषयमा तुलनात्मक रूपमा सचेत देखिन्छन् । ११ असोज ०८० मा इन्द्रजात्रामा सहभागी हुन उनी जुद्धसालिकबाट हिँडेरै वसन्तपुर पुगेका थिए । त्यस्तै, पछिल्लोपटक शिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न जाँदा पनि सडक जाम नगरी पुगेका थिए । औपचारिक सवारीमा राष्ट्रपति पौडेलले सडक जाम नगर्ने नीतिलाई निरन्तरता दिन खोजेका छन् । 

गणतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयनका लागि संविधान संशोधन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी ओलीले विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको रक्षा र प्रभावकारी कार्यान्वयन गर्दै आवश्यकतानुसार संविधान परिमार्जन गर्दै जाने सरकारको सोच रहेको बताएका छन् । कर्णाली प्रदेश सभाको बैठकमा शुक्रबार सम्बोधन गर्दै उनले जनताको बलिदान र संघर्षका आधारमा निर्मित संविधानले सबैलाई समान अधिकारका साथै सबैको प्रतिस्पर्धा र क्षमता प्रदर्शनको अवसर प्रदान गरेकाले यसको रक्षा, कार्यान्वयन तथा देश र जनताको हितमा आवश्यक संशोधन सरकारको कर्तव्य भएको बताए ।

वर्तमान सरकार गठनपपूर्व एमाले र कांग्रेसबिच भएको सातबुँदे सहमतिमा संविधान संशोधनको बुँदा समावेश गरिएको स्मरण गराउँदै ओलीले संविधान संशोधन रहर वा लहडमा नभई राष्ट्रिय आवश्यकतालाई हेरेर गरिने विषय भएको बताए । ‘हामीले ल्याएको गणतन्त्रको व्यवस्थामा राष्ट्रिय स्वाभिमानको प्रबन्ध गरिएको छ । जन्मँदै कोही श्रेष्ठ र कोही रैती हुने प्रणाली सदाका लागि अन्त्य गरेका छौँ । यस प्रणालीमा नागरिक सर्वाेच्चता सबैभन्दा माथि हुन्छ,’ उनले भने, ‘व्यवस्था र अवस्थामा परिवर्तनसँगै अब हामी विकासका सन्दर्भमा आधुनिक ढंगले अगाडि बढ्नुपर्छ । अहिलेको सरकारको ध्यान जनतालाई सूचना र प्रविधको सहायतामा सहज र सरल रूपमा सुविधा होस् भन्नेमा छ । हामीले जनतालाई केन्द्रमा राखेर उत्पादन र उत्पादकत्व बढाउने हिसाबले जानुपर्छ । सातै प्रदेशसँगको संवाद र छलफलका आधारमा आगामी बजेटमा उचित सम्बोधन गरिनेछ ।’ त्यसअघि प्रधानमन्त्री ओली मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी भएका थिए । विभिन्न तह र संकायका तीन हजार ८४१ विद्यार्थी दीक्षित भएका छन् ।

८ फागुन ०८० मा सर्वाेच्चको आदेश छ : सडक अवरुद्ध गर्नैपर्ने अवस्था आएमा सर्वसाधारणलाई पूर्वसूचना दिएर एकतर्फी सडकमा यात्रा प्रबन्ध गर्नू
भिभिआइपीको सवारीका नाममा सडक खाली गरेर नागरिकलाई दुःख दिने प्रवृत्ति बन्द गरिनुपर्ने माग गर्दै अधिवक्ता ज्ञानेश्वर कोइरालाले १९ माघ ०७४ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । जसमा सुनुवाइ गर्दै सर्वाेच्चले आमनागरिकको स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने हकमा प्रतिबन्ध नलगाउन आदेश गरेको थियो । न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासले ८ फागुन ०८० मा गरेको आदेशमा ‘विशिष्ट व्यक्तिको यात्रामा सडक अवरुद्ध गर्नैपर्ने अवस्था आएमा सर्वसाधारणलाई पूर्वसूचना दिएर एकतर्फी सडकमा मात्रै यात्रा प्रबन्ध गर्न’ उल्लेख छ । ‘विशिष्ट व्यक्तिको यात्रा तथा कार्यक्रम तय गरिँदा सकेसम्म कम मात्रामा सर्वसाधारण प्रभावित हुने गरी गर्न र विशिष्ट व्यक्तिको सवारीका क्रममा कमभन्दा कम क्षेत्रमा मात्र सडक खाली गराउने, कम भिडभाड हुने वैकल्पिक मार्ग प्रयोग गर्ने, सवारी चाप तथा भिडभाड कम हुने समयमा सवारीको प्रबन्ध गर्न र सडक अवरुद्ध गर्नैपर्ने अवस्था आएमा सर्वसाधारणलाई पूर्वसूचना दिई एकतर्फी रूपमा सडकमा यात्रा प्रबन्ध गर्नेलगायतका वैकल्पिक उपाय अवलम्बन गर्न सकिन्छ,’ आदेशमा भनिएको छ । त्यस्तै, विशिष्ट व्यक्तिको आवागमनमा सुरक्षा व्यवस्थापन गर्दा सर्वसाधारणको हित र अत्यावश्यक सेवा सञ्चालनमा बाधा नपुग्ने गरी सन्तुलन कायम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई भनिएको छ । 

जनता हिजोको अवस्थामा छैनन्, धेरै सचेत भइसके : कृष्ण पोखरेल, राजनीतिक विश्लेषक  
जनता हिजोको अवस्थामा छैनन्, धेरै सचेत भइसके । सडक अवरोध गरेर सवारी चलाउँदा सरकारले राम्रो काम गर्न सकेको छैन, नागरिकलाई दुःख मात्र दिइरहेको हो कि भन्ने भाष्य बन्न सक्छ । अझ सर्वोच्च अदालतले नै आदेश दिएको अवस्थामा त सरकारको नेतृत्व गर्ने व्यक्तिले पालना गर्नका लागि मनन गर्नुपर्ने हो । यसप्रति जिम्मेवारीमा रहेको व्यक्तिहरू नै बढी सचेत र जवाफदेही बन्नुपर्छ ।

सम्पादकीय टिप्पणी :  सम्राट् देखिने सनक
प्रधानमन्त्री केपी ओली कर्णाली प्रदेश सभालाई सम्बोधन गर्न र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने क्रममा सडक नै खाली गराउने जुन ‘शाही रबैया’ देखियो, त्यो लोकतान्त्रिक गणतन्त्र नेपालका नागरिकलाई सह्यै थिएन । शालीन विरोध जनाए । किनभने जनताले चुनेका प्रधानमन्त्रीसहितका प्रतिनिधिका लागि खाली गरिने बाटो लोकतन्त्रको बाटो होइन, राजर्षिको बाटो हो । 

०४६ को प्रजातन्त्र पुनर्स्थापनापछि मात्रै होइन, ०६२/६३ को नागरिक आन्दोलनको आँधीहुरीले गणतन्त्र स्थापना गरेपछि पनि सिंहदरबारमा विराजमानहरूले नागरिकलाई ‘रैती’झैँ व्यवहार गरे । भिभिआइपीका नाममा हुने ‘सवारी’बाट सडकमा निमुखाले अथाह दुःख खेप्छ । शीतलनिवासबाट सात किलोमिटर दूरीको त्रिभुवन विमानस्थल हेलिकोप्टरमा जाँदा पनि यिनले आकाशसमेत जाम गराएर नागरिकलाई सास्ती दिए । जनताको बिचमा हिँड्नै डर लाग्छ भने सार्वजनिक पद धारण किन गर्नु ?

‘सवारी’का नाममा सडकमा नागरिकमाथि भइरहेको यस्तो ज्यादती बन्द गर्न सर्वोच्च अदालतले एक वर्षअघि नै आदेश गरेको छ । तैपनि शासकहरूमा सम्राट् देखिने सनक छ, जुन सनक र सान लोकतन्त्रका लागि लाज र कलंक भइसक्यो । नारायणहिटीमा विरासत फर्काउँछौँ भन्दै सडकमा देखिएको राजावादीहरूको जुलुसले पनि यिनीहरूको विवेक जगाउँदैन । हेक्का राख्न जरुरी छ– राजाको छोरा त बाटोमा आइपुगे भने अरू कसको छोराको बाटो खाली गर्ने औकात पुग्छ ? सम्राट् देखिने सनक नागरिकलाई किमार्थ मान्य छैन ।

सुझावित समाचार