त्रिभुवन विश्वविद्यालयका रेक्टर र डिनको कार्यकक्षमा तोडफोड

शनिबार, २४ फागुन, २०८१
डिजिटल संस्करण

विद्यार्थीले त्रिभुवन विश्वविद्यालयमा रेक्टर र डिनको कार्यकक्षमा शुक्रबार तोडफोड गरेका छन् । स्नातक तह दोस्रो र तेस्रो वर्ष तथा स्नातकोत्तर तह दोस्रो सेमेस्टरको परीक्षा तालिका सार्नुपर्ने माग राख्दै आइरहेको नेविसंघका कार्यकर्ताले त्रिविका रेक्टर प्राडा खड्ग केसी र विज्ञान प्रविधि संस्थानका डिन शंकर खनालको कार्यकक्षमा तोडफोड गरेका हुन् । उनीहरूले रेक्टर र डिनको कार्यालयमा रहेका टेबुल, कुर्सी, दराज, सिसालगायत सामग्री फुटाएका हुन् । 

‘शुक्रबार कार्यालय जाँदै थिएँ । मेरो कार्यकक्ष तोडफोड भएको भनेर फोन आयो, कार्यालय नगई फर्किएँ,’ डिन खनालले भने, ‘कार्यकक्षमा भएका सबै सामान तोडफोड भएका रहेछन्, कागजात छरिएका छन् । विज्ञान संकाय फिजिक्सका विद्यार्थीले स्नातकोत्तर तहको सेकेन्ड सेमेस्टरको परीक्षा सार्न भनेका थिए । ‘परीक्षा यसअघि पनि सारिएकाले अब सार्न सकिँदैन भनेको थिएँ, अरू केही भएको होइन, तर डिग्री हासिल गरिरहेका विद्यार्थीबाट यस्तो हुनु राम्रो होइन,’ उनले भने । 

डिनको कार्यालयपछि रेक्टरको कार्यकक्ष तोडफोड भएको हो । शुक्रबार बिहान १० बजे रेक्टर प्राडा केसीकोे कार्यकक्षका कुर्सी, टेबुल, दराज भुइँमा लडेका थिए । ढोकाको चाबी तोडिएको थियो । सिसा फुटाइएको थियो भने कागजात भुँइमा छरिएका थिए । त्यसपछि कार्यकक्ष नछिरी रेक्टर केसी फर्किए ।

यसअघि नेविसंघका नेताले केसी र खनाललाई परीक्षाका मिति धकेल्न अनुरोध गर्दै थिए । त्यस्तै, विज्ञान संस्थानको परीक्षा पनि सार्न अनुरोध गरेका थिए । तर, त्रिविले नसार्ने निर्णय गरेपछि विद्यार्थी नेता तोडफोडमा उत्रिएका हुन् । 

हाल त्रिविले स्नातक तह तेस्रो र चौथो वर्षको परीक्षा फारम खुला गरिसकेको छ । फारम खुला गरेअनुसार अबको एक महिनाभित्र परीक्षा सञ्चालन हुनेछ । तर, स्ववियु चुनाव नजिकिएको भन्दै विद्यार्थी नेताले परीक्षा धकेल्न खोजिरहेका छन् । ५ चैतमा स्ववियु चुनाव तय भएको छ । विज्ञान संकाय फिजिक्सका विद्यार्थीले स्नातकोत्तर तह सेकेन्ड सेमेस्टरको परीक्षा सार्न डिनलाई भनिरहेका थिए । यसअघि पनि एकपटक परीक्षा सारिएको थियो । 

त्रिविका प्रवक्ता यमसिंह बोहराले विद्यार्थी नेताले तोडफोड गरेको बताए, तर कसले तोडफोड गरेको भनेर बताएनन् । ‘१० बजेतिर एकाएक विद्यार्थी नेताहरू आए, तोडफोड गरेर गए, अहिले त्रिविमा थरीथरीको माग राखेका छन्, स्नातक तह तेस्रो र चौथो वर्षको परीक्षाको तालिका सार्नुपर्ने माग छ,’ उनले भने, ‘चारवटा विभाग थपिएको विषयमा पनि उनीहरूको विरोध सुनिएको छ ।’ 

त्रिवि उपकुलपति प्राडा केशरजंग बरालले ऐन–कानुनअनुसार अगाडि बढ्न खोज्दा रेक्टर र डिनको कार्यालय तोडफोड भएको बताए । ‘त्रिविमा सुधार गरौँ भनेको यहाँ घटना भइरहन्छन्, आज रेक्टर र डिनको कार्यकक्षमा तोडफोड भयो, हामीले भनेका कुराहरू लागू गर्न खोजेका हौँ, तर विरोध हुन्छ त के गरौँ,’ उनले भने ।

घटना ढाकछोप गर्न नेविसंघको विज्ञप्ति
नेविसंघले विज्ञप्ति जारी गर्दै डिन र रेक्टरको कार्यकक्ष तोडफोडमा कुनै संलग्नता नभएको दाबी गरेको छ । ‘यस विषयमा नेविसंघ त्रिवि समिति स्पष्ट गर्न चाहन्छौँ कि यो घटना हाम्रो कुनै पनि आधिकारिक निर्णय वा निर्देशनअनुसार गरिएको कार्य होइन,’ त्रिवि नेविसंघ सभापति विष्णु बडैलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तर, कुनै पनि प्रकारको हिंसात्मक वा तोडफोड गतिविधिलाई नेविसंघले समर्थन गर्दैन ।’ 

नेविसंघका नेतासमेत रहेका त्रिवि स्ववियु सभापति श्यामराज ओझाले पनि नेविसंघबाट घटना नभएको र संघर्ष समितिले गरेको दाबी गरे । ‘यसमा नेविसंघको हात छैन, संघर्ष समितिबाट त्यस्तो भएको हो, यसबारेमा नेविसंघले आपत्ति पनि जनाइसकेको छ,’ उनले भने, ‘विभिन्न विभाग थपे पनि विद्यार्थीको शुल्क सहज नबनाएपछि त्यस्तो अवस्था आएको हो ।’ नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा पनि घटनामा नेविसंघको कुनै भूमिका नरहेको भन्दै पन्छिन खोजे । ‘यसमा नेविसंघ दोषी होइन, अखिल, स्वतन्त्रलगायतले पनि त्यहाँ विभिन्न माग राख्दै आएका थिए,’ उनले भने, ‘तर, हाम्रो भूमिका छैन ।’ उनले परीक्षाको तालिका सार्नेबारेमा कुनै पनि अर्थ नरहेको दाबीसमेत गरे ।

एमालेको भ्रातृ संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले घटनामा आफूहरूको कुनै भूमिका नरहेको बताए । ‘नेविसंघका अनेकौँ रूप छन्, उनीहरूले ब्यानर राखेर अवरोध गर्दै आइरहेका थिए, यसमा हाम्रो कुनै भूमिका छैन, अझ स्ववियु निर्वाचन नजिकिँदै गरेको अवस्थामा हामीले किन अवरोध पुर्याउनु,’ उनले भने ।

See More On

सुझावित समाचार