सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले न्यायालयमा महिला उपस्थिति बढ्दै जानु सुखद भएको बताएकी छिन् । शुक्रबार एक कार्यक्रममा बोल्दै उनले माथिल्लो तहमा नभए पनि अधिकृत तहमा महिला संख्या बढ्नु भविष्यका लागि राम्रो संकेत रहेको बताइन् ।
‘हिजो हामी कहाँ छन् महिला भनेर खोज्थ्यौँ । अहिले न्यायको शाखा अधिकृतमा ३२ प्रतिशत, सरकारी वकिलमा पनि ३० प्रतिशतभन्दा बढी र कानुन समूहमा पनि २० प्रतिशतभन्दा बढी हुनुहुन्छ,’ उनले भनिन्, ‘उहाँहरू भनेको हाम्रो भोलिको नेतृत्वका लागि विश्वास हो, आशा हो ।’
सर्वोच्चले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरेको छलफल कार्यक्रममा उनले भविष्यमा नेतृत्व दिन सक्ने महिलाहरूको खाँचो रहेको बताइन् । न्यायको कुरा गर्नासाथै आँखामा पट्टी बाँधेको महिलाको मूर्ति स्मरण गरिने भए पनि न्याय दिने स्थानमा न्यून उपस्थिति रहेको उनको भनाइ थियो ।
कम न्यायाधीश भए पनि पछिल्लो समय कानुन क्षेत्रमा आकर्षण बढ्दो रहेको उनको भनाइ थियो । महिलाहरूले कामको सिलसिलामा आइपर्ने कुनै जिम्मेवारीबाट पछि हट्न नहुने न्यायाधीश मल्लले बताइन् ।
आगामी वर्षदेखि बजेट नै छुट्याएर महिला दिवसको कार्यक्रम आयोजना गरिने प्रतिबद्धतासमेत न्यायाधीश मल्लले व्यक्त गरिन् । न्यायाधीश सारंगा सुवेदीले पनि महिला उपस्थितिको प्रशंसा गरिन् । ‘हामी न्याय क्षेत्रमा आउँदा कि त कार्यालय सहयोगी कि त दर्ता चलानी नत्र कम्प्युटर अपरेटरमा केही महिला देखिन्थे । अहिले महिला न्यायाधीशहरूको संख्या पनि बढेको छ,’ उनले भनिन् ।