नेकपा एमाले मोरङको निर्वाचनमा संस्थापन प्यानललाई पराजित गर्दै पदाधिकारीमा इतर समूह विजयी भएको छ।
१०औँ जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणनाअनुसार कुल ८८८ मत खसेकोमा अध्यक्षमा इतर प्यानलका अजम्बर राई ४४६ मत प्राप्त गरेर विजयी भए। संस्थापन पक्षका राजकुमार ओझाले ४०७ मत पाए।
उपाध्यक्षमा पनि इतर समूहकै सागर थापा ४२२ मतले विजयी भएका छन्। उनका प्रतिस्पर्धी शान्ति लिम्बूले ३९१ मत प्राप्त गरिन्। यसैगरी, सचिवमा सोमराज थापा ४६२ मतसहित विजयी हुँदा प्रतिस्पर्धी रविन थापाले ३६८ मत पाएका छन्।
उपसचिवमा विजयी इतर प्यानलकै सन्तोष वान्तबाले ४९० र पराजित संस्थापन पक्षका इर्जालाल राजवंशीले ३११ मत पाएका छन्। उपसचिव महिलातर्फ इतर पक्षकी उषा झा ४१८ मत पाएर विजयी भएकी छिन् भने संस्थापन पक्षकी शिल्पा कार्कीले ४०५ मत प्राप्त गरेकी छिन्।
बुधबार सम्पन्न भएको मतदानको पदाधिकारीतर्फको अन्तिम मतपरिणाम मात्र सार्वजनिक भएको छ। सदस्यतर्फ भने मतगणना जारी नै रहेको निर्वाचन समितिले जनाएको छ।
एमाले मोरङमा पाँचजना पदाधिकारीसहित कुल १६५ जनाको समिति चयनका लागि संस्थापन र इतर समूहबिच कडा प्रतिस्पर्धा जारी छ। प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार निर्वाचनका लागि ३२५ जनाले उम्मेदवारी मनोनयन गराएका थिए। जसमा ७१ जना निर्विरोध भइसकेका छन्।
एमाले मोरङको दसाैँ अधिवेशनको उद्घाटन शनिबार एमाले उपाध्यक्ष रामबहादुर थापाले गरेका थिए। उनले गुट अन्त गरेर सहमतिअनुसार नेतृत्व चयन गर्न निर्देशन दिए पनि इतर पक्षले असन्तुष्टि जनाउँदै आन्तरिक प्रतिस्पर्धा गर्न जोड दिएपछि मतदान भएको हो।
एमाले मोरङमा संस्थापनमा अध्यक्ष केपी ओली समूहलाई नेता भानुभक्त ढकाल, सांसद तथा पूर्वजिल्ला अध्यक्ष ऋषि पोखरेल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतको खुला समर्थन छ। इतर पक्षलाई पूर्वजिल्ला अध्यक्ष विनोद ढकालले खुलेर समर्थन दिएका छन्। ढकाल यसअघि लामो समय अध्यक्ष ओली समूहमै थिए। उनी दुई कार्यकाल मोरङको अध्यक्ष पनि भएका थिए।
चितवन महाधिवेशनबाट अध्यक्ष ओलीसँग टाढिएका ढकाल कोशी प्रदेशको निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका थिए। ढकाल समूहलाई पूर्वराष्ट्रपति विद्या भण्डारीको पनि समर्थन रहेको बताइन्छ।