कर्णाली गरिब प्रदेश हाेइन : प्रधानमन्त्री ओली

शुक्रबार, २३ फागुन, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले कर्णाली प्रदेश विकट नभएको बताएका छन् । मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले कर्णाली प्रदेश विकट नभएर सम्भावनाको खानी भएको बताएका हुन् । 

‘कर्णाली प्रदेश विकट भन्ने गरेका छन् । तर, त्यो हाेइन । यहाँ अहिले तेलको अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘भावी दिनमा यहीको तेल प्रयोगमा आउनेछ ।’  

जडीबुटीको खानी भएको र प्रयोगमा आउन नसकेको प्रधानमन्त्री ओलीले बताए । ‘नराम्रा कुरा भरिया भएर नेपाल अगाडि बढ्दैन,’ उनले भने, ‘त्यसका लागि अग्रगामी सोचले अगाडि बढ्न सक्छ । देश जनता र मानवताका लागि काम गर्नपर्छ ।’

दीक्षित हुने विद्यार्थीलाई उनले फेरि सफलताका लागि अध्ययन–अनुसन्धानमा लाग्न सुझाव दिए । सो अवसरमा प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति ओलीबाट विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका अवसरमा आज विभिन्न तह र संकायका तीन हजार ८४१ विद्यार्थी दीक्षित भएका छन् ।

वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा ती विद्यार्थी दीक्षित भएका हुन् । समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इन्जिनियरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामाजिकशास्त्र गरी सबै संकायबाट स्नातक तहका दुई हजार १८९, स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा शैक्षिक सफलता हासिल गरेका एक हजार ६६३ र व्यवस्थापन संकायको दर्शनाचार्य पूरा गरेका १९ विद्यार्थी दीक्षित भएका हुन्।

 

सुझावित समाचार