जुम्लामा पानी उद्योग पुनः सञ्चालन

बाहिर जिल्लाबाट आएको भन्दा सस्तो मुल्यमा विक्रीवितरण

शुक्रबार, २३ फागुन, २०८१
डिजिटल संस्करण

कर्णाली प्रदेशको हिमाली क्षेत्रमा पर्ने जुम्लामा पानी (यार्सा मिनिरल्स वाटर) उद्योग पुनः सञ्चालनमा आएको छ । ०७३ सालतिर पहिलोपटक एक करोडभन्दा बढी रुपैयाँ लागतमा ‘यार्सा मिनरल्स वाटर’ उद्योग स्थापना गरिएको थियो । 

पातारासी गाउँपालिका– ८ उर्थुचौतारामा स्थापना भएको पानी उद्योग प्राविधिक कारणले केही वर्ष बन्द भए पनि पुनः सञ्चालनमा ल्याएको उद्योग सञ्चालक गणेश रोकायाले बताए । उनले पानीको जार मंसिरदेखि बजारमा आए पनि बोतलमा भने फागुन दोस्रो सातादेखि बजारमा आएको बताए । 

हिमाली जडीबुटी मिसावट मूलको पानी उपकरणमार्फत शुद्धीकरण गरी जार र बोतलमा बिक्री–वितरण भएको उनले बताए । पछिल्लो चरणमा २० लाख खर्च गरी उद्योग पुनः सञ्चालनमा ल्याएका छौँ । अहिले तीनजना कर्मचारी उद्योगमा रोजगार छन् । दुईजना कर्मचारी थप गर्नुपर्ने स्थिति देखिएको छ ।

अहिले पानी कार्टुनमा १९० रुपैयाँमा बेचिरहेका छौँ । उपभोक्तासम्म पुग्दा प्रतिजार ७० रुपैयाँसम्म पर्न जान्छ । उद्योगी रोकायाले बाहिरबाट आउने जार बोतलको पानी बोरिङबाट निकाल्छन् भने यहाँ शुद्ध मूलको पानी प्रोसेसिङ फिल्टरिङ (शुद्धीकरण) गर्ने गरिएकाे बताए । जसले गर्दा बाहिरबाट आएको पानीभन्दा यहाँको पानी निकै सफा र शुद्ध हुन्छ । 

यार्सा मिनिरल्स वाटर बजारीकरण गर्दै आएका तोरनसिंह कठायतका अनुसार बाहिरको पानीभन्दा यहाँ उत्पादन भएको पानी सस्तो मूल्यमा बिक्री भइरहेको छ । डिलरलाई १९० रुपूयाँ र अरू व्यापारीलाई दुई सय रुपैयाँमा बिक्री गर्ने गरिएको छ । बाहिरबाट आएको पानी फुटकरमा प्रतिबोतल ३० रुपैयाँ, काटुनमा २३० देखि २५० रुपैयाँसम्म बिक्री भइरहेको छ । 

पहिला यहाँ बिजुली नहुँदा उत्पादन भएको पानी जेनेरेटरबाट चलाउँदा बाहिरको भन्दा महँगो पर्ने जान्थ्यो । तर, अहिले यहाँ करिब एक मेगावाटको बिजुली उत्पादन भएपछि बिजुलीबाटै पानी उद्योग सञ्चालन गर्न थालेपछि सस्तो भएको हो । अब बाहिरको पानी यहाँ खपत नहुने देखिएको बजारीकरण गर्दै आएकाे कठायतले बताए । 
 

सुझावित समाचार