साबिक विजेता नेपाल पुलिस क्लबले दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा मच्छिन्द्र फुटबल क्लबको सामना गर्ने भएको छ । बिहीबार आदर्शनगर खेलमैदानमा भएको अन्तिम सेमिफाइनलमा मच्छिन्द्रले सिराहाको सहलेस फुटबल क्लबलाई ३–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । मच्छिन्द्रको जितसँगै गोल्डकपको फाइनलिस्ट समीकरण तयार भएको हो ।
खेलको सातौँ मिनेटमा सहलेसले डिबक्सलाइनमा आफ्ना खेलाडी लडाएपछि पेनाल्टीको अपिल गरेको थियो । तर, रेफ्रीले पेनाल्टी प्रहार गर्न नदिएर सहलेसलाई फ्रिकिकको अवसर दिए । सुरुवाती अग्रता लिन नसक्दा सहलेस खेलमा कमजोर देखियो । खेलको दसौँ मिनेटमा मच्छिन्द्रले १–० को अग्रता बनायो । मच्छिन्द्रका स्टाइकर स्टेफनले अग्रता गोल गरेका हुन् । उनले आदित्य शाक्यको सटीक पासमा गोल गरे ।
अग्रतापछि मच्छिन्द्रले खेलमा पकड बनायो । खेलको १३औँ मिनेटमा मच्छिन्द्र २–० ले अगाडि रह्यो । यसपटक पनि मच्छिन्द्रलाई स्टेफनले नै अग्रता दिलाए । दुई मिनेटको अन्तरमा दुई गोल व्यहोरेपछि सहलेसले डिफेन्स रणनीति अपनाएको थियो । मच्छिन्द्रले मध्यान्तरअघि गोल थप्न सकेन । खेलको ६५औँ मिनेटमा मच्छिन्द्र ३–० को बलियो स्थितिमा पुग्यो ।
आदित्यले मच्छिन्द्रलाई तेहोरो गोलको अग्रता दिलाएका हुन् । खेलको अन्तिम समयमा सहलेसले एक गोल फर्कायो । शनिबार फाइनल खेल हुनेछ । यसअघि पहिलो सेमिफाइनलमा पुलिसले आयोजक वीरगन्ज युनाइटेडलाई सडन डेथमा ७–६ ले पाखा लगाएको थियो ।
रेफ्रीले सही निर्णय गर्न सकेनन्
राजीवकुमार यादव, प्रशिक्षक, सहलेस
सुरुमै पेनाल्टी पाउनुपर्ने थियो । डिबक्सभित्र हाम्रा खेलाडीलाई लडाए पनि पेनाल्टी पाइएन । अझ लडाएका खेलाडीले रातो कार्ड पाउनुपर्ने थियो । सहलेसका खेलाडीले मच्छिन्द्रलाई चुनौती दिएका थिए । मच्छिन्द्रले दुई मिनेटको अन्तरमा दुई गोल गर्दा हाम्रा खेलाडी नर्भसझैँ देखिए । आगामी दिनमा थप बलियो भएर खेल्ने योजना छ ।
खेलाडीबिचको तालमेल राम्रो थियो
ज्ञानु क्षेत्री, प्रशिक्षक, मच्छिन्द्र
वीरगन्जमा तेस्रो खेल जित्ने योजना थियो । जितमा गोलअन्तर कति हुन्छ भन्ने थियो । सिनियर तथा जुनियर खेलाडी लगातार प्रतियोगितामा भाग लिइरहेका छन् । हामीले मिलाएर खेलाडी ल्याएका छौँ । सहलेसविरुद्ध खेलाडीले एकआपसमा धेरै मिहिनेत गरेका थिए । अब उपाधि जित्न केही खेलाडी परिवर्तन हुन सक्छ । यहाँ उपाधि जित्ने लक्ष्य छ ।