कुलमानलाई शून्य अंक दिएकोमा सांसदहरूको विरोध

सांसदको प्रश्न– जसले लोडसेडिङ अन्त्य गरे, ९९% नेपालीको घरमा बिजुली पुर्‍याए, घाटाको प्राधिकरणलाई नाफाको अवस्थामा ल्याए, नेपाललाई बिजुली निर्यात गर्ने ठाउँमा पुर्‍याए, त्यही व्यक्तिलाई शून्य अंक ?

शुक्रबार, २३ फागुन, २०८१
डिजिटल संस्करण

सरकारले भ्रष्टहरूलाई पुरस्कृत र इमानदारीपूर्वक उत्कृष्ट काम गरिरहेका कर्मचारीलाई निरुत्साहित बनाउँदै कारबाही गरिरहेको भन्दै सांसदहरूले आपत्ति जनाएका छन् । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि त्यस्तै सिकार बनाएको उनीहरूको भनाइ छ । सरकारको यही रवैया रहे जनताबाट प्रतिकारस्वरूप ‘मिसन शून्य’ थालिए नेताहरू लुक्ने ठाउँ पनि नपाउने उनीहरूको चेतावनी छ । 

‘देशलाई अन्धकारबाट उज्यालोतर्फ डोर्याउने कुलमान घिसिङलाई शून्य अंकको कार्यसम्पादन मूल्यांकन देखाएर फेरि स्पष्टीकरण सोधिएको छ । जसले लोडसेडिङ अन्त्य गरे, ९९ प्रतिशत नेपालीको घरमा बिजुली पुर्याए, घाटाको प्राधिकरणलाई नाफामा पुर्याए, नेपाललाई बिजुली निर्यात गर्ने अवस्थामा पु¥याए, त्यही व्यक्तिलाई शून्य अंक दिएर निषेध गर्न खोज्नु घोर अन्याय हो यो कस्तो परीक्षा हो, जहाँ मिहिनेती विद्यार्थीलाई फेल गरिन्छ, तर अयोग्यहरूलाई जबर्जस्ती पास गराइन्छ ?’ रास्वपाका असिम शाहले बिहीबारको बैठकमा भने, ‘सरकारको नीति मिसन ८४ को नाममा कमिसन ८४ चलाउने दाउ हो ? देश बनाउनेलाई हटाउने र देश लुट्ने खेल बन्द गरियोस् । अन्यथा जनताबाट प्रतिकारस्वरूप मिसन शून्य थालियो भने लुक्ने ठाउँ पनि नभेटिएला ।’

सरकारले कुलमानमाथि कारबाही गर्नु विनाशकाले विपरीत बुद्धिजस्तो भएको शाहको टिप्पणी छ । ‘यहाँ इमानदारलाई निराश बनाइन्छ र भ्रष्टहरूलाई पुरस्कृत गरिन्छ । जब कुलमान, बालेन, रविजस्ता परिवर्तनकारीलाई सिध्याउने षड्यन्त्र हुन्छ, तब प्रश्न उठ्छ– सरकार कुन बाटोमा अघि बढ्दै छ ?’ उनले सोधे । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युत् प्राधिकरणको विषयमा ऊर्जामन्त्री दीपक खड्काले सदनलाई झुटा विवरण दिएको बताए । ‘मन्त्रीजस्तो व्यक्तिले संसद्लाई झुटा विवरण दिनुहुँदैन । गलत सुनाउनुहुँदैन । यहाँ सबै मूर्खहरू मात्रै बसेका छन् भन्ने ठान्नुहुँदैन,’ उनले भने, ‘कर्मचारीलाई सरकारले आफ्नो कारिन्दा मात्रै ठान्छ, नोकर ठानेर व्यवहार गर्छ भने त्यस्ता कर्मचारीको पक्षमा हामी उभिन्छौँ । हामी कसैलाई त्यस्तो अन्याय हुन दिन्नौँ । र, त्यस्ता झुटा कुरा सुनेर मात्रै बस्दैनौँ, मान्न तयार छैनौँ । यो कुरा याद राख्नुपर्यो ।’

पूर्वऊर्जामन्त्रीसमेत रहेका लिङ्देनले आठ वर्षअघि कुलमान प्रबन्ध निर्देशक बन्दा प्राधिकरण ३५ अर्ब घाटामा रहेको स्मरण गराउँदै पछिल्लो आठ वर्षमा ८७ अर्ब कमाएर ३५ अर्ब ऋण तिरेको र ५२ अर्ब खुद नाफामा पुर्याएको तथ्यांक प्रस्तुत गरे । ‘मन्त्रीले रोस्टमबाट उभिएर नक्कली तथ्यांक देखाएर प्राधिकरणलाई नाफा देखाइयो भनेर भन्नुको अर्थ के हुन्छ ? के सन्देश जान्छ ?’ उनले सोधे, ‘भोलि हामीले देशको ठुल्ठुलो जलाशययुक्त आयोजनाहरू प्राधिकरणको सेयर निष्कासन गरेर हाम्रै पैसाले बनाउनुपर्नेछ । प्राधिकरण खतरामा छ, नाफामा छैन भन्ने मनोगत कुरा मन्त्रीले रोस्टममा गएर बोल्नुभयो । आफ्नो व्यक्तिगत आकांक्षा पूर्तिका लागि संस्थाको हितविपरीत हुने काम गर्नुहुँदैन । मन्त्रीजीलाई भन्न चाहन्छु– तपाईं के–के कुरामा आँखा लगाएर यो काम (कुलमान हटाउने)मा अग्रसर हुन लाग्नुभएको छ, पछाडि हट्नुस् । परिस्थिति बिग्रिन नदिनुस् ।’ 

माओवादीका छिरिङ डम्डुङ लामा भोटेले कुलमानलाई हटाउन रातदिनको सरकारको रवैयाको हिसाब जनताले ०८४ मा गर्ने बताए । ‘अन्धकार हटाएर झलमल बनाउनेले नम्बर नै नपाउने ?’ उनले प्रश्न गरे, ‘कमिसन पाएन भनेर कुलमानलाई असक्षम भनेर घेरियो भने ०८४ मा जनताले हिसाब गर्नेछन् ।’ रास्वपाका हरि ढकालले प्रधानमन्त्री ओलीले घरघरमा पाइपबाट ग्यास पु¥याउने भनेको १० वर्ष बितिसक्दा पनि कार्यान्वयन नभएको, तर कुलमान घिसिङले बिजुली चुलोसम्म पु¥याउने, चुलोमा बिजुली उपभोक्ता बढाउने नीति बनाइरहँदा सरकार कारबाही गर्न हात धोएर लाग्नु दुःखद भएको बताए ।

माओवादीका हितबहादुर तामाङले ऊर्जामन्त्री खड्काले कुलमान घिसिङलाई धन्यवाद दिनेभन्दा नकारात्मक, कपोलकल्पित, तथ्यविहीन कुराहरू राखेर सदनलाई ढाँट्नु दुःखद भएको बताए । ‘आफूलाई रिस उठ्यो, मन नपरेको मान्छे, आफूले नियुक्त गरेको होइन भन्दैमा जे पनि भन्ने, दुनियाँलाई हँसाउने उटपट्याङ काम एउटा मन्त्रीजस्तो जिम्मेवार मान्छेले भन्न पाइँदैन,’ उनले भने । 

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भने विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको विषयलाई दलीयकरण नगर्न आग्रह गरे । ‘एउटा कर्मचारीलाई लिएर दलीयकरण गर्दै संसद्को सिंगो प्रतिपक्षी उठेर उनको पक्षमा उभिएको देख्दा लाज लाग्यो,’ उनले भने, ‘मन्त्री, प्रधानमन्त्री हुनुभएको छ । एकजना कर्मचारीका लागि जग हँसाउँदै संसद्का सम्पूर्ण प्रतिपक्षी बेच्न उभिएर गर्ने काम नगरौँ ।’ 

घिसिङका राम्रा पक्ष भए पनि देवत्वकरण नगर्न उनले आग्रह गरे । ‘केही नराम्रा पक्ष पनि होलान्, नेपालको कर्मचारीतन्त्र दुधले नुहाएको छैन । राम्रा–नराम्रा पक्षको विश्लेषण गरौँ । तर, देवत्वकरण गरेर उहाँलाई शिरमै बोकेर हिँड्ने हो भने सबै प्रतिपक्षी दलहरूको अध्यक्ष उहाँलाई नै बनाइदिनुस्,’ घिमिरेले भने । 

सुझावित समाचार