संखुवासभाको मादीमा ब्याडमिन्टन प्रतियोगिता हुने

बिहिबार, २२ फागुन, २०८१
डिजिटल संस्करण

संखुवासभाको मादी नगरपालिकामा ‘चौथो मादी राष्ट्रिय खुला महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता’ सञ्चालन हुने भएको छ। ‘पृथक् पहिचान : मादी नगरपालिकाको सान’ भन्ने नारासहित ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागिएको हो।

बिहीबार मादी नगरपालिकाले पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताका बारेमा जानकारी दिएको छ। नगरप्रमुख जीवन लिङ्थेपले पुरुष डबल, महिला डबल र पुरुष डबल भेट्रान्स प्रतियोगितामा स्थानीयदेखि राष्ट्रियस्तरका खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बताए।

मादी नगरपालिकाले विगतका वर्षहरूदेखि नै खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको उपप्रमुख सुनितादेवी भट्टराई दाहालले बताइन्। उनले प्रतियोगिता सहभागी हुने र खेल हेर्न आउनेहरूले पर्यटकीय क्षेत्रको अवलोकन गर्ने बताइन्। 
 
प्रतियोगितामा पुरुष डबल्सतर्फका प्रथम, द्वितीय र तृतीय हुने दुई टिमले क्रमशः ७५ हजार, ५० हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। पुरुष डबल भेट्रान्सतर्फका प्रथम, द्वितीय र तृतीय हुने दुई टिमले क्रमशः ५० हजार, ३० हजार र १० हजार रुपैयाँ तथा महिला डबल्सतर्फ प्रथम, द्वितीय र तृतीय हुने दुई टिमले क्रमशः ४० हजार, ३० हजार र १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।

प्रतियोगिता यही फागुन २९ देखि सुरु भई चैत ३ गते समापन हुनेछ।
 

सुझावित समाचार