कुलमानका विषयमा मन्त्री खड्काले रोस्ट्रमबाटै झुट बोले : अध्यक्ष लिङ्देन

व्यक्तिगत आकांक्षा पूर्तिका लागि संस्थाको हितविपरीतका काम नगर्न चेतावनी

बिहिबार, २२ फागुन, २०८१
डिजिटल संस्करण
कुलमानका विषयमा मन्त्री खड्काले रोस्ट्रमबाटै झुट बोले : अध्यक्ष लिङ्देन

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ऊर्जामन्त्री दीपक खड्काले रोस्ट्रममै उभिएर झुट बोलेको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा लिङ्देनले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा मन्त्री खड्काले झुटा विवरण पेस गरेका भन्दै आपत्ति जनाएका हुन्।

संसदमा मूर्खहरू नबसेका भन्दै लिङ्देनले सरकारको प्रतिनिधिले संसद्लाई झुटा विवरण दिन नहुने उल्लेख गरे। ‘यहाँ (संसद)मा सबै मूर्खहरू मात्रै बसेका छन् भन्ने ठान्नुहुँदैन भन्ने मलाई लाग्छ। मन्त्रीज्यू जसरी सबै प्रतिपक्षहरूमाथि खनिनुभयो र कतिपय सत्तापक्षका माननीयहरूले पनि एउटा कर्मचारीलाई बोकेर नहिँड्नुस् भन्नुभयो। कर्मचारीलाई सरकारले आफ्नो कारिन्दा मात्रै ठान्छ, नोकर ठानेर व्यवहार गर्छ भने त्यस्ता कर्मचारीको पक्षमा हामी उभिन्छौँ। हामी कसैलाई अन्याय हुन दिँदैनौँ।’

३५ अर्ब घाटामा रहेको प्राधिकरणलाई घिसिङले ५२ अर्ब नाफामा पुर्याएको उल्लेख गर्दै लिङ्देनले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता घटाउँदा पनि प्राधिकरण ठुलो नाफामा रहेको प्रस्ट्याए।

उनले भने, ‘कुलमान घिसिङ आठ वर्षअघि कार्यकारी निर्देशक हुँदा नेपाल विद्युत् प्राधिकरण ३५ अर्ब घाटामा थियो। अहिले यो आठ वर्षमा ८७ अर्ब कमाएर ३५ अर्ब तिरेर ५२ अर्ब खुद नाफामा छ संस्था। तर, मन्त्रीले नक्कली तथ्यांक पेस गरेर प्राधिकरणलाई नाफा देखाइयो भनेर भन्नुको अर्थ के हुन्छ? के सन्देश जान्छ?’

ऊर्जामन्त्रीको भनाइबाट डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नउठाउने सरकारले टुंगो गरिसकेको देखिएको भन्दै अध्यक्ष लिङ्देनले आफ्नो व्यक्तिगत आकांक्षा पूर्तिका लागि संस्थाको हितविपरीत हुने काम नगर्नसमेत मन्त्रीलाई चेतावनी दिएका छन्।
 

सुझावित समाचार