सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत निकायमा कार्यरत लेखा अधिकृतहरूले आफूहरूलाई संघीय सरकारमा फिर्ता पठाइदिन प्रदेश सरकारसँग माग गरेका छन् । १२ जना लेखा अधिकृतले आफूहरूलाई संघमा फिर्ता पठाउन माग गर्दै प्रदेश सरकारका प्रमुख सचिव कमलप्रसाद पोखरेललाई बुधबार निवेदन बुझाएका हुन् ।
प्रदेशमा आफूहरूको वृत्तिविकास रोकिएको र त्यसले काम गर्ने वातावरण नभएको उनीहरूले उल्लेख गरेका छन् । लेखातर्फ नवौँ र दसौँ तहमा प्रदेशमा एउटा मात्र दरबन्दी रहेको तथा प्रदेश निजामती ऐनमा लेखाका कर्मचारीलाई सामान्य प्रशासनतर्फ नराखिएपछि आफूहरूको वृत्तिविकासको ढोका बन्द भएको लेखा अधिकृत पदम विष्टले बताए ।
‘लेखातर्फ प्रदेशभरि नवौँ र दसौँ तहमा एउटा मात्र दरबन्दी छ । सामान्य प्रशासनतर्फ पनि प्रतिस्पर्धा गर्न नपाइने भएपछि वृत्तिविकासको ढोका बन्द भयो,’ उनले भने, ‘प्रदेश निजामती ऐन निर्माण हुने वेलादेखि नै यसमा सरकारको ध्यानाकर्षण गराउँदै आएका थियौँ, तर सुनुवाइ नभएपछि संघमा फिर्ता पठाइदिन आग्रह गरेका हौँ ।’
प्रदेश लोकसेवाले अहिले सामान्य प्रशासनतर्फ कर्मचारीलाई नवौँ र दसौँ तहमा बढुवाका लागि विज्ञापन गरेको छ । यसले सामान्य प्रशासनका जुनियर कर्मचारी पनि आफूहरूभन्दा सिनियर भएर आउने अवस्था भएको लेखा अधिकृतहरूले बताएका छन् ।
लेखाका अधिकृतले सामान्य प्रशासनतर्फ पनि नवौँ र दसौँ तहमा बढुवाको प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै आएका छन् । नभए लेखामा नवौँ र दसौँमा छुट्टै दरबन्दी कायम हुनुपर्ने उनीहरूको माग छ । ‘लेखातर्फ नवौँ र दसौँ तहमा एउटा मात्र दरबन्दी छ, त्यो पनि रिक्त छैन । अहिले नै बढुवा हुनुपर्ने १३–१४ जना छौँ,’ विष्टले भने, ‘वृत्तिविकासविनै अवकाश हुनुपर्ने अवस्था छ ।’
लेखा अधिकृत बलदेव कपाडीले प्रदेशमा वित्तृविकास रोकिएकाले आफूहरूले संघमा फिर्ता हुन चाहेको बताए । यस विषयमा पटक–पटक ध्यानाकर्षणसहित दबाबमूलक कार्यक्रम गरे पनि सुनुवाइ नभएको उनले गुनासो गरे । उनका अनुसार ०७४ मा सुदूरपश्चिम प्रदेशमा समायोजन भएर आएका लेखा अधिकृतको संख्या २५ थियो । वित्तृविकासको बाटो बन्द भएका कारण आधा कर्मचारी अवकाश भएर गइसकेको उनले बताए ।
‘सामान्य प्रशासनतर्फ प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरिएको छ । लेखा समूहमा एउटा मात्र दरबन्दी छ,’ उनले भने, ‘बढुवा भएर जाने ठाउँ छैन । वृत्तिविकासको बाटो नै बन्द भएपछि संघमै फिर्ता पठाइदिन आग्रह गरेका हौँ ।’ सामान्य प्रशासनतर्फ खोलिएको बढुवाले कनिष्ठ कर्मचारी सिनियर भएर आउने हुँदा काम गर्ने उत्प्रेरणा र सहज वातावरण नभएको उनले बताए । सामान्य प्रशासन समूहअन्तर्गत नै आएकाले लेखाका कर्मचारीलाई पनि नवाँै तहमा बढुवाका लागि सामान्य प्रशासनतर्फ प्रतिस्पर्धा गर्न पाउने ढोका खुला गर्नुपर्ने माग लेखा अधिकृतहरूको छ । उनीहरूले संगठन व्यवस्थापन तथा सर्भेक्षणको कार्य गर्न माग गर्दै आएका छन् ।