एमालेका जनवर्गीय संगठनहरूको महाधिवेशन सुरु

मानव अधिकार एलाइन्समा आधा पदाधिकारी कटौती गर्दै नौ सदस्यीय पदाधिकारीमा निर्वाचन

बिहिबार, २२ फागुन, २०८१
डिजिटल संस्करण

एमालेले पार्टीसम्बद्ध जनवर्गीय संगठनहरूको राष्ट्रिय महाधिवेशन अगाडि बढाएको छ । वैशाख पहिलो साताभित्र जनवर्गीय संगठनहरूको महाधिवेशन सम्पन्न गर्ने पार्टी निर्णयपछि राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार एलाइन्स)को छैटौँ राष्ट्रिय महाधिवेशन बुधबारबाट काठमाडौंमा सुरु भएको छ । एलाइन्सपछि अन्य जनवर्गीय संगठनको पनि महाधिवेशन आयोजना गर्ने कार्यतालिका छ । 

१६ जनसंगठनको महाधिवेशन आयोजना गबर्ने पार्टी निर्णय कार्यान्वयन गर्ने एलाइन्स पहिलो जनसंगठन हो । महाधिवेशनको उद्घाटन बुधबार राष्ट्रिय सभामा आयोजित समारोहमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले गरे । महाधिवेशनमा ७७ जिल्लाबाट चार सय प्रतिनिधि सहभागी छन् । बुधबारै सुरु भएको बन्दसत्रले राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनका साथै विधान मस्यौदा प्रस्ताव पारित गरेको छ ।

महाधिवेशनले पारित गरेको विधानअनुसार बिहीबार अध्यक्षसहित नौ सदस्यीय पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइने एमाले केन्द्रीय सदस्य तथा एलाइन्सका इन्चार्ज विष्णु रिजालले बताए । महाधिवेशन गरेर निर्णय कार्यान्वयन गर्ने एलाइन्स पहिलो जनसंगठन भएका कारण पार्टी र नेतृत्वले महाधिवेशनलाई विशेष महत्व दिएर नजिकबाट नियालिरहेको रिजालले बताए । 

‘पार्टीले वैशाखभित्र जनसंगठनहरूको महाधिवेशन सम्पन्न गर्ने र केन्द्रीय नेतृत्व चुस्तदुरुस्त र कामयाबी बनाउन १७ सदस्यीय पदाधिकारीको आकार घटाएर एकल अंक नौमा सीमित गर्ने तथा १५१ सदस्यीय केन्द्रीय कमिटीको आकार ९९ सदस्यीयमा सीमित गर्ने दुईवटा निर्णय गरेको थियो,’ उनले भने, ‘ती निर्णयपछि महाधिवेशन गर्ने जनसंगठनमध्ये मानवअधिकार एलाइन्स पहिलो जनसंगठन भएकाले पार्टीलेमहत्वका साथ नजिकबाट महाधिवेशनलाई नियालिरहेको छ ।’ उनले पार्टीका दुवै निर्णय कार्यान्वयन गर्दै सर्वसम्मत नेतृत्व प्रस्तुत गर्ने दाबीसमेत गरे । 

एमालेले वैशाख पहिलो साताभित्र प्रेस चौतारी नेपाल, प्रगतिशील तथा कानुन व्यवसायी संगठन, नेपाल मुस्लिम इत्तेहाद संगठन, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन, नेपाल बुद्धिजीवी परिषद्, प्रोग्रेसिभ इ. एसोसिएसन, नेपाल उद्योग तथा व्यवसायी महासंघ, भूमि अधिकार तथा श्रमिक संगठन, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, राष्ट्रिय अपांगता संगठन नेपाल, राष्ट्रिय जनसांस्कृतिक महासंघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय युवा संघ, नेपाल र रिटर्नी फेडेरेसन, नेपालको महाधिवेशन आयोजना गर्दै छ । 
 

See More On

सुझावित समाचार