नेकपा (एकीकृत समाजवादी) का गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जा जिल्ला अध्यक्ष विष्णु गिरी बलात्कार आरोपमा पक्राउ परेका छन्। एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कास्की प्रहरीले स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका– १४ घर भएका ५१ वर्षीय गिरीलाई मंगलबार स्याङ्जाबाट पक्राउ गरेर पोखरा ल्याएको हो।
कास्की प्रहरीले जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी लिएर स्याङ्जा प्रहरीको सहयोगमा उनलाई पक्राउ गरी कास्की प्रहरीलाई बुझाएको स्याङ्जा प्रहरीका सूचना अधिकारी उमेशलाल श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार गिरीलाई प्रहरीले उनको घरबाटै पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माका अनुसार एक नाबालिकालाई बलात्कार गरेको उजुरी कार्यालयमा आएपछि आवश्यक प्रक्रिया पुर्याएर गिरीलाई पक्राउ गरिएको हो।
मंगलबार स्याङ्जाबाट पक्राउ गरी ल्याइएका गिरीलाई कास्की जिल्ला अदालतबाट बुधबार ६ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको शर्माले जानकारी दिए । घटना अनुसन्धानका क्रममा रहेकाले अन्य कुरा जानकारी दिन नमिल्ने उनले बताए।