परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतीय समकक्षी डा. एस जयशंकरको निमन्त्रणामा रायसिना डायलगमा सहभागी हुन भारत जाने भएकी छिन् । रायसिना डायलग ४–६ चैतमा भारतको राजधानी नयाँदिल्लीमा आयोजना हुँदै छ । भारतीय विदेश मन्त्रालय र चिन्तन संस्था अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ)ले रायसिना डाइलग आयोजना गर्दै आएका छन् ।
भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा र भारतीय विदेशसचिव विक्रम मिश्रीबिच मंगलबार दिल्लीमा भएको भेटमा परराष्ट्रमन्त्री राणाको भ्रमण तय भएको हो । ‘परराष्ट्रमन्त्री राणा रायसिना डायलगमा सहभागी हुनुहुने तय भएको छ । उहाँको स्वास्थ्योपचार पनि हुनेछ,’ परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले भने । भ्रमण तय भए पनि विस्तृत कार्यतालिकालाई अन्तिम रूप दिन बाँकी रहेको उनले बताए ।
परराष्ट्र स्रोतका अनुसार परराष्ट्रमन्त्री राणाले स्वास्थ्योपचार, तीर्थाटन र रायसिना डायलगमा सहभागी हुने गरी जाने तयारी भएको छ । उनले रायसिना डायलगलाई सम्बोधन गर्ने पनि कार्यक्रम छ । ‘उहाँ झारखण्डको बैजनाथ बाबाधाम दर्शनमा जाने, दिल्लीमा स्वास्थ्योपचार गर्ने, रायसिना डायलगमा सहभागी हुने र समकक्षीसँग भेटवार्ता गर्ने विषयमा परराष्ट्र मन्त्रालयले भारतीय विदेश मन्त्रालयसँग समन्वय गरिरहेको छ । यहीअनुसार उहाँ अलिकति अगाडि भारत जानुहुन्छ,’ परराष्ट्र स्रोतले भन्यो ।
सरकारले २–४ जेठमा आयोजना गर्न लागेको सगरमाथा संवादमा प्रमुख वक्ता/अतिथिका रूपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाउन औपचारिक निमन्त्रणापत्र पठाउने पनि सरकारको तयारी छ । ‘प्रधानमन्त्री केपी ओलीले आग्रह गरेमा मोदीका लागि परराष्ट्रमन्त्रीले निमन्त्रणापत्र लिएर जानुहुनुनेछ । तर, प्रधानमन्त्री ओली आफैँले थाइल्यान्डमा बिमस्टेक सम्मेलनको क्रममा भेटमा मोदीलाई चिठी दिन चाहनुहुन्छ वा चिठी पठाउन चाहनुहुन्छ भन्ने तय हुन बाँकी छ,’ जानकार स्रोतले भन्यो ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) सम्मेलनमा प्रधानमन्त्री ओली थाइल्यान्डमा सहभागी हुने तय भएको कूटनीतिक स्रोतले जनाएको छ । सम्मेलन २०–२२ चैतसम्म बैंककमा आयोजना हुनेछ । त्यस क्रममा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबिच भेटवार्ताको तयारी छ । ‘प्रधानमन्त्री ओलीले त्यही समयमा मोदीलाई निमन्त्रणा हस्तान्तरण गर्ने सम्भावना पनि छ,’ स्रोतले भन्यो ।
श्रम र आप्रवासन समस्याबारे संयुक्त बैठक
वैदेशिक रोजगारीमा रहेका तथा नेपाली आप्रवासनका क्षेत्रमा हाल देखिएका समस्याको समन्वयात्मक रूपमा समाधान गर्ने विषयमा बुधबार परराष्ट्र, गृह र श्रममन्त्रीको संयुक्त बैठक भएको छ । बैठकको समन्वय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गरेकी थिइन् । छलफलमा गृहमन्त्री रमेश लेखक, श्रममन्त्री शरत्सिंह भण्डारी र मन्त्रालयका सचिवहरू सहभागी थिए । बैठकमा नेपालको श्रम तथा आप्रवासन क्षेत्रलाई थप व्यवस्थित गर्ने विषयमा छलफल भएको परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार पाठकले बताए ।
सरकारले प्रतिबन्ध लगाए पनि कतिपय मध्यपूर्वी देशमा घरेलु कामदारका रूपमा नेपाली महिला अवैध बाटोबाट पुगेको भन्दै परराष्ट्रमन्त्री राणाले बैठकमा चासो राखेकी थिइन् । ‘कुवेतमा मात्र करिब ४८ हजार नेपाली महिला पुगेको भन्ने सुनिएको छ । भोलि कोही समस्यामा परे भने उनीहरूको सुरक्षा तथा उद्धारको काम चुनौतीपूर्ण हुन सक्छ । त्यसैले सरकारले यस्तो प्रतिबन्ध हटाउने विषयमा पनि अब सोच्नुपर्छ,’ उनको प्रश्न थियो, ‘सरकारले कानुनी रूपमा रोके पनि अवैध बाटोबाट नेपालीहरू आखिर पुगिरहेकै छन् भने यस्ता प्रावधान अब किन राख्ने ?’
भिजिट भिसामा विदेश जान दिने प्रक्रियालाई व्यावहारिक रूपमा अनुगमन गर्न, श्रम स्वीकृतिसम्बन्धी व्यवस्थालाई सहजीकरण गर्न तथा अप्ठेरोमा परेका नेपाली डायस्पोराको उद्धारबारे एक स्वीकृत नियम बनाउन पनि उनको सुझाब थियो । गृहमन्त्री लेखकले वैदेशिक रोजगार ऐन, २०६४ लाई अब समयसापेक्ष बनाई संशोधन गर्नुपर्ने सुझाव दिए ।