पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार बागलुङ कालिका भगवती मन्दिरको दर्शन गर्नुका साथै पूजा–अर्चना गरेका छन् । बुधबार दिउँसो करिब १ बजेको समयमा पारिवारिक र धार्मिक भ्रमणका लागि बागलुङ आएका शाहले झन्डै २० मिनेट मन्दिरभित्रै बसेर पूजा–अर्चना गरेका थिए ।
उनी कडा सुरक्षाका साथ मूल सडकबाट पैदल यात्रा गरी मन्दिर पुगेका थिए । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले उनलाई मन्दिरभित्रै पसेर पूजा गर्ने प्रबन्ध गरेको थियो । उनलाई बाटोमा सयौँ नागरिक उपस्थित भएर स्वागत गर्नुका साथै पन्चेबाजा, भजन समूह र अन्य झाँकीसहित तामझामका साथ जयजयकार गरिएको थियो ।
शाहको स्वागतका लागि अधिकांश राप्रपासमर्थक नेता तथा कार्यकर्ता थिए भने केही कांग्रेस र कम्युनिस्टका नेता तथा कार्यकर्ता पनि देखिन्थे । बागलुङका स्थानीय जब्बरबहादुर लामिछानेको संयोजकत्वमा ५०१ सदस्य रहेको नागरिक स्वागत मूल समारोह समिति गठन गरी शाहको स्वागतका लागि शिव सेना लेखेको टिसर्ट र ज्याकेट लगाएका स्वयंसेवकसमेत खटिएका थिए । सहभागीले राजा आऊ देश बचाऊ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ लगायत नारा लगाएका थिए ।
पूजा गरिसकेपछि स्वागत समितिअन्तर्गत कार्यसम्पादन समितिका पदाधिकारीले शाहलाई भेटेर सक्रिय हुन सुझावसमेत दिए । शाहलाई स्वागत गर्न पर्वतबाट पनि राप्रपाका कार्यकर्ता, स्वतन्त्र नागरिकहरूसमेत मन्दिरमा आएका थिए । बुधबारै शाह बागलुङ कालिकाबाट निस्केपछि म्याग्दीस्थित गलेश्वरमा पनि दर्शन गरेका छन्।