गृहमन्त्री रमेश लेखकले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई गम्भीर रूपमा लिएर शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
बुधबार बिहान गृहमन्त्री लेखकले गृह मन्त्रालयमा प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित उच्चपदस्थ प्रहरी अधिकारीहरूलाई मुलुकका विभिन्न क्याम्पसमा हुने स्ववियु निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मजबुत बनाउन निर्देशन दिएका हुन् ।
त्यसैगरी, मन्त्री लेखकले निर्वाचन हुने प्रत्येक जिल्लामा जिल्ला प्रहरी कार्यालयमा स्ववियु निर्वाचनकै लागि सम्पर्क व्यक्ति तोकेर निर्वाचन हुने क्याम्पस र आवश्यक सुरक्षा संयन्त्रसित समन्वय गर्न आग्रहसमेत गरेका छन् ।
प्रहरी प्रमुखसित निर्वाचन सुरक्षाबारे जानकारीसमेत लिँदै मन्त्री लेखकले स्ववियु निर्वाचनलाई आमनिर्वाचनजत्तिकै गम्भीर रूपमा लिएर सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरेका छन् ।