जिल्लास्तरीय १औँ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि शारदा नगरपालिकाले हात पारेको छ। प्रतियोगितामा शारदा नगरपालिकाले १५ स्वर्ण सात रजत र पाँच कांस्य हात पार्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो। यस्तै, ११ स्वर्ण चार रजत र १२ कांस्य हात पार्दै छत्रेश्वरी गाउँपालिका दोस्रो स्थान हासिल गर्न सफल भएको छ भने १० स्वर्ण तीन रजत र तीन कांस्यसहित कुमाख गाउँपालिका तेस्रो भएको छ।
६ स्वर्ण, १२ रजत र ६ कांस्यसहित कपुरकोट गाउँपालिका चौथो स्थान हासिल गर्न सफल भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खड्क आचार्यले जानकारी दिए। बागचौर नगरपालिकाले तीन स्वर्ण, पाँच रजत र ७ कांस्य, त्रिवेणी गाउँपालिकाले दुई स्वर्ण, तीन कांस्य र ६ रजत, सिद्ध कुमाख गाउँपालिकाले एक स्वर्ण, एक रजत र ११ कांस्य, बनगाड कुपिण्डे नगरपालिकाले एक स्वर्ण, एक रजत र चार कांस्य र कालीमाटी गाउँपालिका नाै स्वर्ण १० रजत र १० कांस्य पदक हात पार्न सफल भएको छ ।
यस्तै, विभिन्न विधाका खेलमा उत्कृष्ट खेलाडी छनोट भएका छन्। भलिबलमा छात्रातर्फ लक्ष्मी विक र रोहित शाही रहेका छन् यी दुवै खेलाडी कुमाख गाउँपालिकाका हुन्। कबड्डीतर्फ छात्र सुरेश सिंह बनगाड नगरपालिका र छात्रातर्फ विन्दु घर्ती छत्रेश्वरी गाउँपालिकाका रहेका छन्। यस्तै, एथलेटिक्सतर्फ छात्र राजेश केसी शारदा नगरपालिका र छात्रातर्फ सिर्जना विक कुमाख गाउँपालिका रहेका छन् भने तेक्वान्दोतर्फ छात्र प्रमोद बुढाथोकी र छात्रा डिला विक रहेका छन् । यी दुवै खेलाडी शारदा नगरपालिकाका हुन्।