ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलोपटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्लोबल आइएमई एआई÷एमएल ह्याकाथन’ आयोजना गर्ने भएको छ ।
बैंकले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्तालाई लक्षित गर्दै नवीनतम प्रविधिमा आधारित बैंकिङ सेवा विकासका लागि ह्याकाथन प्रतियोगिता सञ्चालन गर्न लागेको जनाएको छ । साथै, ह्याकाथनले डिजिटल बैंकिङमा आउने सम्भावित सेवा र यसको चुनौतीबारे समाधान खोज्नसमेत सहयोग पुग्ने बताइएको छ ।
प्रतियोगितामा सहभागी प्रतिस्पर्धीले बैंकले तोकेका विभिन्न विषयमा केन्द्रित रही आफ्ना धारणा प्रस्तुत गर्नुपर्नेछ । उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसरसमेत प्रदान गरिनेछ । ‘डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउन नवीनतम धारणालाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्वपूर्ण भूमिका खेल्नेछ,’ बैंकको भनाइ छ ।
प्रतियोगितामा सहभागिता हुन इच्छुकले बैंकको वेबसाइटमार्फत दर्ता गर्नुपर्नेछ । ह्याकाथन प्रतियोगिता दुई चरणमा हुनेछ । जसअन्तर्गत पहिलो चरणमा अनलाइन पेपर प्रस्तुति र दोस्रो चरणमा अनसाइट ह्याकाथन हुनेछ । पहिलो चरणको सहभागिताका लागि प्रतियोगीले ४ अप्रिल २०२५ सम्म अनलाइन पेपर प्रस्तुत गर्नुपर्नेछ । त्यस्तै, दोस्रो चरणअन्तर्गत १ मे २०२५ मा अनसाइट ह्याकाथन हुनेछ ।