ट्रम्पले लाइभ टिभीमा जे गरे, अन्य राष्ट्रपति पर्दापछाडि गर्थे

असभ्य, दम्भी र क्रूर प्रवृत्तिमा ट्रम्प अपवाद नभएर विगतको अभ्यासको निरन्तरता मात्र हुन्

बुधबार, २१ फागुन, २०८१
डिजिटल संस्करण

वासिंटन, ओटावा, क्यानबेरा, लन्डन, पेरिस र अन्यत्रका तथाकथित ‘शक्तिशालीलाई पछ्याउने’ पत्रकारले आकस्मिक रूपमा आउने घटना मन पराउँदैनन् । उनीहरूलाई निममितता मन पर्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई प्रत्यक्ष प्रसारणमा झपारेको घटनाप्रतिको अत्यधिक प्रतिक्रियाले ह्वाइट हाउस हेर्ने प्रेस समूहको यही प्रवृत्तिलाई नै जोड दिन्छ । 

अमेरिकाका कमान्डर–इन–चिफ (ट्रम्प)ले आफ्ना ‘युद्ध नेतृत्व गरिरहेका नायक’ पाहुनालाई ‘अपमानित’ गरेको दृश्यप्रति अधिकांश परिचित केबल न्युज नेटवर्कहरूले एकस्वरमा अविश्वास र स्तब्धता प्रकट गरे । तर, मेरो प्रतिक्रिया भने तिनको भन्दा केही भिन्न रह्यो । म प्रत्यक्ष रूपमा प्रकट भएका उल्लिखित दृश्यबाट मोहित हुन पुगेँ ।

सधैँ विनम्र देखिने अमेरिकी राष्ट्रपतिलाई ओभल अफिसमा भेट्दा विदेशी प्रतिष्ठित व्यक्तिहरू र राष्ट्र प्रमुखबिच खुसी र मुस्कान साटासाट देखिन्थ्ये । त्यसविपरीत क्यामेरा, रिपोर्टर र आमजनतालाई छलेर बन्द कोठामा हुने शक्ति राजनीतिको असभ्यता र क्रूरता सार्वजनिक रूपमा प्रत्यक्ष हेर्न पाउनु धैरैलाई जस्तै मेरा लागि नयाँ अनुभव थियो । स्वीकार गर्न घृणा गर्लान्, तर ट्रम्प, भान्स र जेलेन्स्कीबिचको लामो चर्काचर्कीबिच मौन पुतलाजस्तै देखिएका त्यहाँ उपस्थित भिडले खासमा अन्य दिनजस्तै नम्र आदानप्रदानको अपेक्षा गरेका थिए ।

किनकि, तिनलाई पहिले–पहिले हुने अत्यन्त योजनाबद्ध नाटकमा तिनको अनुमानित भूमिका थाहा छ ।

चरण १ : ओभल अफिसमा जाने । 

चरण २ : विदेशी राष्ट्र प्रमुखले अमेरिकी राष्ट्रपतिका बारेमा भनेका राम्रा र मिठा कुरा रेकर्ड गर्ने । 

चरण ३ : जवाफमा अमेरिकी राष्ट्रपतिले विदेशी राष्ट्र प्रमुखका बारेमा भनेका राम्रा र मिठा कुरा रेकर्ड गर्ने । 

चरण ४ : अमेरिकी राष्ट्रपति र विदेशी राष्ट्र प्रमुखले एक–अर्काका बारेमा भनेका रेकर्ड गरिएका राम्रा र मिठा कुराबारे आफ्नो सञ्चार संस्थालाई रिपोर्टिङ गर्ने ।

चरण ५ : समाचार बाहिरिसकेपछि स्रोतहरूलाई फोन गर्ने, जसले तपाईंलाई व्यक्तिगत रूपमा (अफ रेकर्ड) अमेरिकी राष्ट्रपति र विदेशी राष्ट्र प्रमुखले एक–अर्काका बारेमा साँच्चै राम्रा र मिठा कुरा नभनेको खुलाउनेछन् । 

चरण ६ : र, तिनै अज्ञात स्रोत उद्धृत गर्दै सार्वजनिक रूपमा एक–अर्काका बारेमा प्रशंसा र मिठो कुरा गरेका अमेरिकी राष्ट्रपति र उनीसँगै फोटोका लागि मुस्कुराइरहेका उनका विदेशी पाहुना एक–अर्कालाई अत्यन्त घृणा गर्छन् भन्ने भित्री तथ्य पुनः रिपोर्ट गर्ने । 

गत साताको फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँ र बेलायती प्रधानमन्त्री केयर स्टारमरको ट्रम्पसँगको भेटवार्ताको रिपोर्टिङमा लगभग यही सूत्र प्रयोग भएको थियो । 

तर, युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको भेटवार्ता भने भिन्न रह्यो । अपरम्परागत स्वभावका लागि परिचित ट्रम्प र उनका कठोर उपराष्ट्रपतिले यस परम्परागत अभ्यासलाई उल्ट्याइदिए । त्यस भेटलाई लिएर अमेरिकी मिडियाका रिपोर्टर र विश्लेषक अलमल्ल र रनभुल्लमा परे । ‘यो जसरी भयो, त्यसरी हुनुहुँदैथ्यो,’ उनीहरूले एक स्वरमा विलाप गरेको सुनियो । ह्वाइट हाउस बिटका रिपोर्टरमा पहिलोपटक स्टेनोग्राफर(भनेको खरर सार्ने व्यक्ति)को सट्टा पत्रकारको रूपमा काम गर्नुपरेको अवस्था उत्पन्न हुँदा हतास देखिए । 

यसैले ट्रम्पप्रति लक्षित अधिकांश अतिरञ्जित आक्रोश उनले जेलेन्स्कीलाई भनेका कुराका कारण आएका होइनन् । यो उनले ओभल अफिसमा सारा टिभी क्यामेरासामु भनेको कुरामा लक्षित देखिन्छ । (किनकि युक्रेन र त्यहाँका राष्ट्रपतिप्रतिको ट्रम्पको घृणा स्पष्ट भएकै कुरा हो ।) अमेरिकाको भद्र वाचाल वर्गले सो घटनालाई यसैकारण अमान्य मानिरहेको छ, ट्रम्पले खुलेआम जेलेन्स्कीलाई होच्याए र धम्की दिए । जबकि भद्र तथा कूटनीतिक राष्ट्रपतिले ती कुरा बन्द ढोका पछाडि गर्नुपर्ने थियो । 

तर, विडम्बना के हो कि अमेरिकी टिभी नेटवर्क र तिनमा छाउने व्यक्तित्वले ‘प्रत्यक्ष प्रसारण’मा कुनै पनि क्षण पर्दामा बनावटी नभएर वास्तविक द्वन्द्व उत्पन्न हुन सक्ने सम्भावनामा जोड दिएर दर्शक आकर्षित गर्ने प्रयास गर्छन् । तर, ओभल अफिसमा साँच्चै तिनले दाबी गर्नेजस्तो समाचार बन्ने खालको द्वन्द्व सुरु भयो, तिनै टिभी नेटवर्क र टिभी व्यक्तित्वले त्यसलाई दुत्कारे । त्यसलाई अमेरिकी राष्ट्रपति कार्यालय र संयुक्त राज्य अमेरिकाका लागि अशिष्ट व्यवहारको संज्ञा दिए । तर, यी सुतुरमुर्गाहरूले यो कुरालाई ध्यान दिऊन् कि अत्यन्त सहजताका साथ झुट बोल्नु र पश्चात्तापको भावनाविना अरूलाई मार्न आदेश दिनुका अतिरिक्त अमेरिकी राष्ट्रपतिमा हुनुपर्ने पूर्वसर्त हुन्, असभ्य, दम्भी र क्रूर हुनु । यसमा राष्ट्रपति डेमोक्य्राट हुन् वा रिपब्लिकन कुनै फरक देखिन्न । ट्रम्प अपवाद नभएर विगतको परम्पराका निरन्तरता मात्र हुन् ।

आकर्षक व्यक्तित्वका हार्वर्डमा पढेका राष्ट्रपति जोन एफ केनेडीको प्रशासनले क्युबाका युवा नेता फिडेल क्यास्ट्रोको हत्या गर्ने प्रयास गर्न माफियालाई प्रयोग गरेका थिए । उनको सरकारले नोभेम्बर १९६३ को प्रारम्भमा दक्षिण भियतनामको राष्ट्रपति गो डिन्ह डाइमको हत्यापछि भएको सत्ता पलटलाई मौन स्वीकृति दियो । 

केनेडीका उत्तराधिकारी लिन्डन जोनसन ६ फिट चार इन्च अग्ला थिए । उनी आफूलाई रिस उठाउने होचा कदका सार्वजनिक व्यक्तिलाई शारीरिक रूपमा आक्रमण गर्ने गर्थे । जस्तो, जोनसनले सन् १९६५ मा नोबेल शान्ति पुरस्कारसमेत जितेका होचा कदका क्यानेडेली प्रधानमन्त्री लेस्टर पियर्सनलाई क्याम्प डेभिडमा बोलाए । लेस्टरले उत्तरी भियतनाममा अमेरिकी बमबारीको निन्दा गरेका थिए । रिपोर्टअनुसार क्याम्प डेभिडमा जोनसनले पियर्सनको सर्टको गला समाते र उचालेर चिच्याउँदै भनेका थिए, ‘तिमीले मेरो कार्पेटमा पिसाब गर्यौ ।’ 

त्यही वर्ष, क्रोधित जोनसनले राष्ट्रपतिको इच्छाविपरीत ब्याजदर बढाएकोमा तत्कालीन फेडरल रिजर्भका अध्यक्ष विलियम मार्टिनलाई भित्तामा ठोकिदिएका थिए । ‘भियतनाममा जवानहरू मरिरहेका छन्, तर बिल मार्टिनलाई वास्ता छैन,’ जोनसनले गर्जनको स्वरमा भनेका थिए । 

उता, राष्ट्रपति इमानदारिताका प्रतिमूर्ति रिचर्ड निक्सनले सिआइएलाई चिलीको लोकतान्त्रिक रूपमा निर्वाचित समाजवादी राष्ट्रपति, साल्भाडोर एलेन्डेलाई विफल पार्न, कमजोर बनाउन र अस्थिर बनाउन आदेश दिएका थिएका थिए । निक्सनको यहुदीप्रतिको अश्लील हदको घृणाको तुलनामा ट्रम्पले जेलेन्स्कीलाई प्रयोग गरेको टिप्पणी धेरै संयमित लाग्छ । उनले एक टेपमा गुनासो गर्दै वासिंटन ‘यहुदीहरूले भरिएको’ र ‘अधिकांश यहुदीहरू बेइमान रहेको’ विलाप गरेका थिए । 

राजनीतिक पण्डित र टिभी व्यक्तित्वहरू स्विकार्न तयार छन् वा छैनन्, तर सो दिनको घटना टेलिभिजनका लागि उत्कृष्ट हुने भन्ने ट्रम्पको भनाइ सही छ । यसपटक हामीले अर्का ‘ग्याङस्टर’ राष्ट्रपतिको आश्चर्यजनक, ऐतिहासिक शब्द र वचन जस्ताको त्यस्तै प्रत्यक्ष रूपमा देख्न पाएका मात्र हौँ । 

टोरन्टोमा राजनीतिक टिप्पणीकार मित्रोविका अलजजिराका स्तम्भकार हुन् । 

 – अल जजिराबाट
 

सुझावित समाचार