सरकारले शून्य नम्बर दिएका घिसिङले गत आवमा के–के गरेका थिए काम ?

मंगलबार, २० फागुन, २०८१
डिजिटल संस्करण

उत्कृष्ट काम गरेबापत कार्यसम्पादनमा लगातार दुई आर्थिक वर्ष शतप्रतिशतनजिक अंक पाएका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि प्रतिशोध साध्दै ऊर्जा मन्त्रालयले यसपटक शून्य अंक दिएको छ । सरकारले शून्य नम्बर दिएका घिसिङले गत आवमा यी काम गरेका थिए :

प्रसारणलाइन र सबस्टेसन निर्माणमा लक्ष्यभन्दा बढी काम 
– गत आवमा उत्पादन निर्माणतर्फ सुनकोशी– ३, अरुण– ४ र कर्णाली चिसापानीलगायतका आयोजनाहरूको अध्ययन कार्य प्रारम्भ भएको थियो । १५० वटा पम्प स्टोरेज आयोजनाहरू पहिचान भई स्यार्पु दह पम्प स्टोरेज आयोजनाको अनुमतिपत्र प्राप्त भई अध्ययन अघि बढाइएको छ । ९९ मेगावाटको तामाकोशी– ५ र ६० मेगावाटको मोदी जलविद्युत् परियोजनाको निर्माण सुरु गरिएको छ । यसैगरी १०६१ मेगावाटको माथिल्लो अरुण र ६७० मेगावाटको जलविद्युत् परियोजनामा लगानी जुटाउने प्रक्रिया पनि अन्तिम चरणमा पुर्‍याइएको छ । यसैगरी २१० मेगावाटको चैनपुर सेती आयोजनाहरूको विस्तृत अध्ययन सम्पन्न भई वित्तीय व्यवस्थापन अन्तिम चरणमा रहेको छ । 

– गत आवमा २५० सर्किट किलोमिटर प्रसारणलाइन निर्माणको लक्ष्य रहेकोमा ७६६ किलोमिटर निर्माण भएको छ । १००० एमभिएको सबस्टेसन बनाउने लक्ष्य रहेकोमा ४१८३ एमभिए क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको छ । नेपाल–भारत दोस्रो अन्तरदेशीय प्रसारणलाइन अर्थात् ४०० केभीको बुटवल–गोरखपुर प्रसारणलाइन निर्माण सुरु भएको छ । हेटौँडा–भरतपुर–बर्दघाट प्रसारणलाइन सम्पन्न भएको छ । यस्तै, औद्योगिक लाइन बर्दघाट– सर्दी १३२ केभी र बुटवल–लुम्बिनी १३२ केभी प्रसारणलाइन सम्पन्न भएको छ । 

– दुई लाख ग्राहक बढाउने लक्ष्य रहेकोमा करिब तीन लाख ग्राहक वृद्धि गरिएको छ । १०० एमभिए वितरण सबस्टेसनको क्षमता बढाउने लक्ष्य रहेकोमा ३२० एमभिएको क्षमता वृद्धि भएको छ । स्मार्ट मिटर, मोबाइल एप र केन्द्रीकृत गुनासो व्यवस्थापन साथै अनलाइन पेमेन्ट प्रणाली लागू गरिएको छ । 

– ग्रिड सबस्टेसन र प्रसारणलाइनको मर्मतसम्भार भई आपूर्ति व्यवस्थामा सुधार भएको छ । विद्युत्को औद्योगिक माग वृद्धि १०० एमभिए गरिनुपर्नेमा १५४ एमभिए वृद्धि भएको छ । १०० मेगावाटको ग्रिड इम्प्याक्ट स्टडीको लक्ष्य रहेकोमा २१५४ मेगावाटको ग्रिड इम्प्याक्ट स्टडी भएको छ । 

– वित्तीय व्यवस्थापनतर्फ विद्युत् महसुल औसत संकलन अवधि ६ दिन घटाइएको साथै बक्यौता असुली अभियान सञ्चालन गरिएको छ । प्राधिकरणको सम्पत्ति मूल्यांकन गर्ने कार्य सम्पन्न भएको छ । अन्य स्रोतबाट हुने आय वृद्धि भई तोकिएको लक्ष्य पूरा भएको छ ।

– औद्योगिक र ग्रार्हस्थ्य ग्राहकसमेतमा गरी विद्युत्को उच्च माग १८.२९ प्रतिशतले वृद्धि भएको छ । प्रणालीको चुहावट १५.१८ प्रतिशत कायम गर्ने लक्ष्य रहेकोमा १२.७३ प्रतिशत कायम भएको छ । 

– विद्युत् निर्यात ४४.५७ प्रतिशतले वृद्धि भएको छ । आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता भएको छ । गत आवमा १६ करोड ९४ लाख रुपैयाँको विद्युत् आयात हुँदा निर्यात १७ अर्ब सात करोड रुपैयाँको भएको छ, जुन आयातभन्दा १३ करोड रुपैयाँ बढी हो । 

पहिलोपटक ४०० केभीको आन्तरिक प्रसारणलाइन
गत आवमा निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारणलाइनको ढल्केबर–इनरुवा खण्ड पनि जेठ ०८१ मा सञ्चालनमा आएको छ । नेपालको आन्तरिक प्रसारण प्रणालीमा ४०० केभीको प्रसारणलाइन सञ्चालनमा आएको यो नै पहिलोपटक हो । 

डाटा सेन्टर पनि सञ्चालनमा
प्राधिकरणले विद्युत् वितरण प्रणाली नियन्त्रण सेन्टर र अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक डाटा सेन्टर पनि सञ्चालनमा ल्याएको छ । काठमाडौंको स्युचाटारस्थित भार प्रेषण केन्द्रसँग निर्माण गरिएको उक्त डाटा सेन्टर गत असारमै सञ्चालनमा ल्याइएको हो । 

४०० केभीका दुई सबस्टेसन सञ्चालनमा 
गत आवमा ४०० केभीका दुई सबस्टेसन सञ्चालनमा आएका छन् । ४०० केभीको इनरुवा सबस्टेसन र ४०० केभी हेटौँडा सबस्टेसन गत आवदेखि सञ्चालनमा आएका छन् । 

विकट चेपाङबस्तीमा बिजुली, निःशुल्क मिटर 
यसबिचमा अति सीमान्तकृत चेपाङ समुदायको बाहुल्य रहेको धादिङ र चितवनका विकट बस्तीहरूमा राष्ट्रिय प्रसारणलाइनको विद्युत् पुगेको छ । प्राधिकरणले चेपाङ समुदायलाई निःशुल्क मिटर पनि उपलब्ध गराएको छ । गत जेठ ०८१ देखि त्यहाँका चेपाङ समुदायले बिजुली बाल्न पाएका छन् । 

मर्स्याङ्दी–काठमाडौं प्रसारणलाइन तथा मातातीर्थ सबस्टेसन पनि सञ्चालनमा
मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारणलाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन पनि गत वैशाखदेखि सञ्चालनमा छ । काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि निर्माण गरिएकोमध्ये मातातीर्थ सबस्टेसन सबैभन्दा ठुलो हो ।

कालीगण्डकी करिडोर सञ्चालनमा 
समीक्षा वर्षमा कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइन पनि असोज ०८० देखि सञ्चालनमा छ । 

भारतको रियल टाइम मार्केटमा पनि विद्युत् बेच्न अनुमति
गत आवमा प्राधिकरणले भारतको इनर्जी एक्सचेन्ज (आइएक्स)को रियल टाइम मार्केटमा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) बिडिङ गरी बिजुली बेच्दै आएको प्राधिकरणले असोज ०८० बाट सवा घण्टाअघि बिडिङ गरी विद्युत् बिक्री गर्न पाउने भएको छ । 

मुगुमा पुग्यो राष्ट्रिय प्रसारणलाइनको विद्युत्
प्राधिकरणले गत आवमा कर्णाली प्रदेशको मुगु जिल्लामा विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रिड) पुर्‍याएको छ । भदौ ०८० मा त्यहाँ विद्युत् पुर्‍याइएको हो । 

२२० केभीको बाह्रबिसे सबस्टेसन सञ्चालनमा
गत आवमा २२०/१३२ केभीको बाह्रबिसे सबस्टेसन पनि सञ्चालनमा आएको छ । यो परियोजना असार ०८१ देखि सञ्चालनमा आएको हो । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ ।

नयाँ भरतपुर २२० केभी सबस्टेसन र हेटौँडा–भरतपुर–बर्दघाट प्रसारणलाइन सञ्चालन
यसबिचमा नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन पनि सञ्चालनमा आएको छ । हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारणलाइन पनि सञ्चालनमा छ । भदौ ०८० देखि यी परियोजना सञ्चालनमा आएका हुन् । 

त्रिशूली थ्री बी हब २२० केभी सबस्टेसन पनि सञ्चालनमा 
चिलिमे–त्रिशूली २२० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित पहिरेबेँसीमा निर्माण गरिएको त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेसन पनि सञ्चालनमा आएको छ । जेठ ०८१ मा उक्त सबस्टेसन सञ्चालनमा आएको हो । 

बंगलादेशमा विद्युत् निर्यातको आधार तयार 
बंगलादेशमा विद्युत् निर्यात गर्न गत आवमा धेरै प्रक्रिया पूरा गरिएका छन् । फलस्वरूप बंगलादेशमा व्यवस्था परिवर्तन हुदाँसमेत ३० कात्तिक ०८१ मा ४० मेगावाट विद्युत् नेपालबाट निर्यात गरिएको छ । विभिन्न चरणमा वार्ता गरेर सम्झौतापत्र तयार पार्नेलगायतका काम गत आवमै भएका छन् ।

कुलमान आएपछि भएका महत्वपूर्ण काम

घाटाको प्राधिकरण निरन्तर नाफामा : आठ वर्षअघि ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड सञ्चित नाफामा छ । यसमा चालू आवको नाफा समायोजन गर्न बाँकी छ । प्राधिकरणले गत आवमा १४ अर्ब ४६ करोड नाफा कमाएको थियो । चालू आवको ६ महिनामा ११ अर्ब ३६ करोड नाफा कमाएको छ । 

लोडसेडिङ अन्त्य : कुलमान आएपछि नै १८ घण्टासम्म भइरहेको लोडसेडिङ अन्त्य भयो । 

दुई देशमा विद्युत् निर्यात : यसबिचमा कात्तिक ०७८ देखि भारत र कात्तिक ०८१ देखि बंगलादेशमा पनि व्यावसायिक रूपमा विद्युत् निर्यात सुरु गरिएको छ । 

चुहावट नियन्त्रणमा फड्को : प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणमा पनि फड्को मारेको देखिन्छ । आठ वर्ष अघिसम्म २५.७८ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो । गत आवमा त्यो १२.७३ प्रतिशतमा सीमित भएको छ । आव ०७९/८० मा विद्युत् चुहावट १३.४६ प्रतिशत थियो । 

९९% घरमा बिजुली : प्राधिकरणले आठ वर्षमा विद्युतीकरणमा ठुलो सफलता हात पारेको छ । आव ०७२/७३ मा विद्युतीकरणको अवस्था ५८ प्रतिशत मात्र थियो । तीन वर्षअघि ८९.७ प्रतिशत रहेको विद्युतीकरण अहिले ९९ प्रतिशत पुगेको छ । 

निरन्तर ‘डबल ए प्लस’ रेटिङ : इक्रा नेपालको क्रेडिट रेटिङमा प्राधिकरणले निरन्तर ‘डबल ए प्लस’ रेटिङ पाइरहेको छ । यसबाट प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व ढुक्कसँग बहन गर्न सक्ने क्षमतामा देखिएको छ ।

सुझावित समाचार