दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो खेलमा बागमती फुटबल क्लब सर्लाहीलाई हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। आदर्शनगर रंगशालामा सोमबार भएको खेलमा नेपाल पुलिस क्लबले २–१ गोल अन्तरले बागमती फुटबल क्लब सर्लाहीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो।
सुरुदेखि दुवै टिमबिच प्रतिस्पर्धा देखिएको खेलमा पुलिस क्लबले बागमतीको पोस्टमा निरन्तर बल प्रहार गरेको थियो। पुलिसले खेलको १६औँ मिनेटमा पहिलो गोल गरेर अग्रता बनाएको थियो। पुलिसका लागि मनीष सेढाईले पहिलो गोल गरे।
पुलिसले पहिलो गोल गरेको १० मिनेटपछि खेलको २६औँ मिनेटमा बागमतीले पनि आफ्नो पहिलो गोल गर्दै खेललाई बराबरीमा पुर्याएको थियो।
त्यसपछि निरन्तर दुवै टिमको खेलाडीबिचमा रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। पहिलो हाफसम्ममा एक-एक गोलको बराबरीमा दुवै टिमले खेलेका थिए।
खेलमा पहिलो जित खोजी रहेका दुवै टिमले झन् आक्रामक भएर खेल्न थालेका थिए। तर, दोस्रो हाफको आधा समय बितिसक्दा बागमतीविरुद्ध पुलिसले दोस्रो गोल गर्यो।
खेलको ७७औँ मिनेटमा पुलिसका खेलाडी उज्ज्वल राईले गोल गरेका थिए। यही गोल निर्णायक साबित भयो।
खेलको म्यान आफ द म्याच नेपाल पुलिस क्लबका कप्तान रामचन्द्र बाजी भए। उनले नगद १० हजारसहित सिल्ड प्राप्त गरेका थिए।
मंगलबारको खेलमा मच्छिन्द्र फुटबल क्लब र एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौंले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा राष्ट्रियस्तरका आठ फुटबल टिमको सहभागिता जनाउनेछन्।
मधेश प्रदेशकै सर्वाधिक धनराशिको दोस्रो वीरगन्ज गोल्डकप प्रतियोगितामा विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ।
के भन्छन् प्रशिक्षक ?
चेतन घिमिरे, प्रशिक्षक
नेपाल पुलिस क्लब
खेलमा सुरुदेखि जित्ने योजना थियो। अन्तत: पूरा पनि भएको छ, खुसी लागेको छ। खेलमा केही खेलाडी सी डिभिजनका पनि खेलेका थिए। तर, समग्रमा नतिजा हेर्दा राम्रो खेलेका छन्। साबिक विजेता भएकाले यस वर्ष पनि उपाधि जित्ने योजना छ। अबको खेलमा केही थप रणनीति बनाएर खेल्ने योजना बनाउनेछौँ। विगतको भन्दा यस वर्ष खेल मैदान राम्रो पनि रहेको अवस्था छ।
भोजबहादुर राई, प्रशिक्षक
बागमती फुटबल क्लब
नतिजा आफ्नो पक्षमा नआए पनि खेलमा प्रतिस्पर्धा गर्नु ठुलो कुरा हो। जुन बागमतीका खेलाडीले देखाएका छन्। पुलिसजस्तो क्लबलाई अन्तिम समयसम्ममा टक्कर दिएका खेलाडीमा कम जोस छैन। बलियो टिमसँग खेल्नु पनि एक प्रकारको सिकाइ नै हुन्छ। आगामी दिनमा थप रणनीति बनाएर खेल्ने योजना छ।