पहिलो संस्करणको सहिद कप भलिबल प्रतियोगिताको उपाधि मुकेश मेमोरियल क्लब आम्बेगुदिनले जितेको छ। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचामा आयोजना गरिएको प्रतियोगिताको फाइनलमा कुन्जारी स्पोर्टिङ क्लब सिकैँचालाई सोझो सेटमा हराउँदै आम्बेगुदिनले उपाधि जितेको हो।
आम्बेगुदिनले पहिलो सेट २५–१९ र दोस्रो सेट २५–२३ को अंकसहित जित निकालेको हो। उपाधिसँगै आम्बेगुदिनले १० हजार ५०० रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको कुन्जारीले पाँच हजार रुपैयाँमा चित्त बुझाएको छ।
सहिद सप्ताहको अवसरमा नेकपा (माओवादी केन्द्र) वडा कमिटी सिकैँचाले प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा विजेता र उपविजेता टोलीबाहेक फावाखोला स्पोर्टिङ क्बल, बोखिम स्पोर्टिङ क्बल, तेल्लोक स्पोर्टिङ क्लब र हेन्छेबुङ स्पोर्टिङ क्लबसहित ६ टोलीले सहागिता जनाएका माओवादी केन्द्र सिरिजङ्घा गाउँपालिका कमिटी सहसचिव हेमन्त पौडेलले जानकारी दिए।
विजेतालाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग)ले पुरस्कार वितरण गरेका थिए। पुरस्कार वितरणसँगै कार्यक्रममा सिकैँचाका सहिद परिवारलाई सम्मानसमेत गरिएको थियो।