हिउँ कसैको लागि रहर छ भने कसैको लागि कहर बनिदिन्छ । हिउँ हेर्न र खेल्न जानेहरूका लागि रहरको विषय हो, तर हिउँसँगै गुजारा गर्नेहरूको पीडा छुट्टै हुन्छ।
लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा वर्षमा एक-दुईपटक अनिवार्य हिउँ परेकै हुन्छ । यस वर्ष पनि गत साता शुक्रबार र शनिबार हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भयो भने तल्लो क्षेत्रमा वर्षा भयो । जिल्लाको सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिकाको माथिल्लो क्षेत्रहरू हिमपात भएपछि सेतै भए ।
कालो पत्थरमा परिणत भइसकेको सिस्ने हिमाल सेताम्य भएको छ भने पुथा हिमाललगायत धौलागिरि रेन्ज पूरै सेताम्य छ । मध्यपहाडी लोकमार्गको लुकुम पातिहाल्ना खण्डको पाँच-सात किलोमिटर दूरीको मोटर यात्रा हिउँसँग साक्षात्कार हुँदै गर्न सकिन्छ । रुकुम पूर्व–बागलुङ सिमाना पातिहाल्नाबाट उकालो चढेर चौँरी लेक र किलाचन लेकमा पुग्दा त्यहाँबाट देखिने सिस्ने हिमाल, पुथा हिमालको दृश्यसँगै सुन्दर ढोरपाटनको फाँटले मानिसलाई मन्त्रमुग्ध बनाउने गर्दछ ।
हिउँ परेसँगै आन्तरिक पर्यटक लोभिने गर्दछन् । पातिहाल्नामा अहिले दैनिक हिउँ खेल्नेको भिड लाग्ने गर्छ । यस क्षेत्रमा रुकुम पूर्वको विभिन्न ठाउँसहित रोल्पा, रुकुम पश्चिम, बागलुङ, दाङ, सल्यानबाट हिउँ खेल्न आउने गरेका छन् । कतिपय मानिसहरू पोखरा र बुटवलबाट समेत हिउँ खेल्न पातिहाल्नामा पुगेको होटेल व्यवसायी किस्मत घर्तीले बताए।
हिउँ परेको समयमा हिउँ खेल्न आउने मानिसको जमघटले होटेलमा भ्याइनभ्याइ हुने गरेको उनले सुनाए । ‘टाढाबाट आएका मानिस वास बस्न खोज्छन्,’ होटेल व्यवसायी घर्तीले भने, ‘यो पातिहाल्नामा दुईवटा कटेज मात्र छन्, पाहुनालाई वास बसाल्न सकिने अवस्था छैन ।’
तर, हिउँ परेको समयमा आन्तरिक पर्यटकको जमघटले यो क्षेत्रमा रौनकता थप्ने गरेको उनको भनाइ छ।
मध्यपहाडी लोकमार्ग भएर यात्रा गर्ने सबै यात्रुले पातिहाल्नामा एकछिन गाडी रोकेर वरपरको दृश्यलाई नियाल्ने र फोटो ‘क्लिक’ गरेर मात्र आफ्नो यात्रालाई अगाडि बढाउने गरेका छन् । पातिहाल्नामा हिउँ परेपछि बर्सेनि आफूहरू समूह बनाएर हिउँ खेल्न आउने गरेको रुकुम पश्चिमबाट आएका चन्द्रबहादुर कुँवरले बताए।
यसै पनि यो क्षेत्र रमणीय भएको र यहाँबाट अन्य विभिन्न गन्तव्यहरूमा जान सकिने भएको कारण अन्य समयमा पनि आउने गरेको बताउँदै उनले हिउँ परेको समयमा जसरी नि यहाँ पुग्ने गरेको सुनाए।
प्रायः मानिसहरू हिउँ खेलेर पातिहाल्नाबाट फर्कने गरेका छन् । केही मानिस थप सुन्दर दृश्यलाई नियाल्नका लागि किलाचन र चौँरी लेकसम्म पुग्ने गरेका छन् । चौँरी लेकबाट यतिवेला सिस्ने हिमाल र पुथा हिमालसँगै धौलागिरि रेन्ज र ढोरपाटनको सुन्दर फाँट बडो गजब देखिने गरेको रोल्पाका मिलन मगरले बताएका छन्। यो चौँरी क्षेत्र हिउँदमा हिउँको घुम्टो ओढ्दा र बर्खामा आगनभरि रंगीबिरंगी फूलहरू फुल्दा निकै सुन्दर देखिने उनले बताए।
पातिहाल्ना क्षेत्रमा हिउँ नपग्लिँदासम्म हिउँ हेर्न आउने आन्तरिक पर्यटकहरूको आगमन नरोकिने भूमे गाउँपालिका– १ का दिलचन पुनले बताए।
पातिहाल्नामा दैनिक रुकुम पूर्वसहित विभिन्न छिमेकी जिल्लाहरूबाट आउने आन्तरिक पर्यटकहरू फोटो, भिडियो खिच्न, टिकटक बनाउनमै व्यस्त देखिने गरेको उनले बताए।
कतिपय मानिस एक–अर्कालाई हिउँ हानेर रमाइरहेको दृश्य पनि देख्न सकिन्छ । रुकुम पूर्व, बागलुङ र रोल्पा तीन जिल्लाको सिमानामा रहेको पातिहाल्ना र यस आसपासको क्षेत्र प्रचुर पर्यटकीय सम्भावना बोकेको ठाउँ हो ।