आपसी मतभेदहरूलाई त्यागेर पार्टीलाई जीवन्त बनाऊँ : सभापति देउवा

सोमबार, १९ फागुन, २०८१
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई जीवन्त बनाउन आपसी मतभेदहरूलाई त्यागेर अगाडि बढ्नुपर्ने बताएका छन् । कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागको आयोजनामा सोमबारबाट भैरहवामा राष्ट्रियस्तरको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटनका क्रममा बोल्दै पार्टी सभापति देउवाले पार्टीभित्र अनेकन किसिममका मतभेद रहेको बताउँदै आपसी छलफल, कुराकानी र मेलमिलापबाट  पार्टीलाई जीवन्त बनाउने बताए ।  

प्रशिक्षण कार्यक्रमले पार्टीलाई कसरी संस्थागत र बलियो बनाउने भन्ने विषयमा छलफल गरिने बताउँदै पार्टीलाई आगामी निर्वाचनमा अझ सशक्त पार्टी बनाउन सहयोग पुग्ने बताए । कांग्रेसलाई पहिलो पार्टीको रूपमा अगाडि बढाइराख्न सबैको एकता आवश्यक रहेको देउवाले बताए । अस्थिर सरकारको अन्त्यका लागि एमाले र कांग्रेस मिलेर बहुमतको सरकार बनेको उनले बताए  ।   

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागका सभापति तथा पार्टी उपसभापति पूर्णबहादुर खड्काले सोमबार र मंगलबार सञ्चालन हुने प्रशिक्षणमा मुलुकभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका क्षेत्रीय सभापति र उपसभापति गरेर ३३० जनाको सहभागिता रहेको बताए । प्रशिक्षणमा पार्टीलाई कसरी संस्थागत र बलियो बनाउने भन्ने विषयमा छलफल गरिनेछ ।

प्रशिक्षण कार्यक्रममा पार्टीका जिल्ला, प्रदेश र संघीय प्रतिनिधिको सहभागिता रहनेछ । कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकास शर्मा पनि सोमबार कार्यक्रममा सहभागी हुन आउँदै छन् । गृहमन्त्री रमेश लेखकसमेत आउने कार्यक्रम रहेको छ । कांग्रेस नेता शेखर कोइराला, मीनेन्द्र रिजाल शनिबारदेखि रुपन्देहीमै छन् ।

दुईदिने कार्यक्रममा कांग्रेसले अहिलेसम्म गरेका नीतिगत सुधार, भौतिक पूर्वाधारलगायत उपलब्धि, संविधान र मुलुकको विकासका लागि कांग्रेसले खेल्नुपर्ने भूमिका, आगामी महाधिवेशन, क्रियाशील सदस्य, आमनिर्वाचन गरी विभिन्न ६ वटा विषयमा प्रस्तुति रहनेछन् । 

साथै, सहभागीले आफ्नो क्षेत्रका अनुभव आदान–प्रदान गर्नुका साथै वर्तमान सरकारका कामकारबाहीबारे आलोचनात्मक सुझाव दिने र सरकारमा सहभागी दुईजना मन्त्रीले त्यसको जवाफ दिने कार्यक्रम रहेको पार्टी उपसभापति खड्काले जानकारी दिए ।

सुझावित समाचार