रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको लेक लागेर मृत्यु भएको छ । रारा घुम्न आएका काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका– १० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको सोमबार बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको जानकारी दिए।
जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार विश्वकर्मा आइतबार राति ९ बजे सास फेर्न समस्या भएपछि चेकजाँच गर्न जिल्ला अस्पताल पुगेका थिए। चेकजाँचपछि शरीरमा अक्सिजनको कमी भएकाले अस्पताल भर्ना हुन आग्रह गरिएको थियो । चेकजाँचपछि उनी सल्लेरी फर्किएको, तर सोमबार बिहान गाह्रो भएपछि ६ बजेतिर उनलाई साथीहरूले एम्बुलेन्समा लिएर लगेका थिए । अस्पताल पुग्दा उनको मृत्यु भइसकेको चिकित्सक शाहीले जानकारी दिए।
उनका अनुसार भुवनमा मोटोपन थियो । दमको पनि दीर्घरोगी थिए । हिमपात भएको वेला, चिसो मौसम, उच्च हिमाली भूभागमा अक्सिजनको कमीको कारण लेक लागेर काडियो प्रमोनरी एरेस्ट हुँदा उनको मृत्यु हुन गएको पनि चिकित्सक शाहीले बताए।
आइतबार मात्र मृतक विश्वकर्मासहित २५ जनाको टोली रारा घुम्न रारा ताल क्षेत्रमा पुगेको थियो ।