जन्ममिति किर्ते गरेको अभियोगमा नेपाल बिमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवालमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि अनुसन्धान गरिरहेको छ । सिआइबी स्रोतका अनुसार किर्ते मुद्दामा उनलाई पक्राउ गर्न अदालतबाट समेत अनुमति दिइसकेको छ । उनीमाथि किर्ते मुद्दामा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिरमै सिआइबीलाई पत्राचार गरेको थियो । ‘अख्तियारकै पत्रका आधारमा अनुसन्धान थालेका हौँ,’ सिआइबीका एक उच्च अधिकारीले भने, ‘उनी हाम्रो फरार सूचीमा छन् ।’
सिलवालले जन्ममिति किर्ते गरेर तीन वर्ष उमेर घटाएको अभियोगमा अख्तियारले गत मंसिरमा मुद्दा दायर गरेको थियो । जसमा विशेष अदालतले आइतबार उनलाई सफाइ दिएको थियो । भ्रष्टाचार मुद्दामा सफाइ भए पनि किर्ते मुद्दाको अनुसन्धान नरोकिने सिआइबीका अधिकारी बताउँछन् । विशेष अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै अख्तियारले पनि फैसलाको पूर्णपाठ प्राप्त भएपछि सर्वाेच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको छ।
स्रोतका अनुसार अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा पनि उनीमाथि अनुसन्धान गरिरहेको छ । उनको सबै सम्पत्तिको विवरण निकालेर बयानमा बोलाउने तयारी गरेको छ । निजामती सेवामा रहँदा तथा पछि बिमा प्राधिकरणको अध्यक्ष हुँदा उनले अकुत सम्पत्ति आर्जन गरेको उजुरी परेका छन् । सिलवाल पूर्वगृहसचिवसमेत हुन्।