फेब्रुअरीमा २५% घटे भारतीय पर्यटक

सन् २०२५ को दुई महिनामा पर्यटक आगमन सामान्य वृद्धि, भित्रिए एक लाख ७६ हजार, भारतीयपछि अमेरिकन धेरै

सोमबार, १९ फागुन, २०८१
डिजिटल संस्करण

नेपालमा भारतीय पर्यटक आगमन घट्दै गइरहेको छ । सन् २०२५ फेब्रुअरीमा भारतीय पर्यटकको आगमन संख्या गत वर्षको फेब्रुअरी महिनाको तुलनामा २५ प्रतिशतले घटेको छ । फेब्रुअरी महिनामा १९ हजार एक सय ८७ भारतीय पर्यटक नेपाल घुम्न आएको पर्यटन बोर्डले जनाएको छ । यो संख्या अघिल्लो फेब्रुअरीमा २५ हजार पाँच सय ७८ रहेको थियो । जनवरीमा पनि भारतीय पर्यटकको संख्या १५ प्रतिशतले कम थियो । अघिल्लो जनवरीमा २४ हजार एक सय ३९ भारतीय भित्रिँदा यो जनवरीमा २० हजार चार सय ८५ पर्यटक नेपाल घुम्न आएको बोर्डको तथ्यांक छ ।

बर्सातको समयमा भएका दुई ठुला बस दुर्घटना (भारतीय पर्यटक सवार) र अविरल वर्षाले देशभर बाढीपहिरो जाँदा घटेका भारतीय पर्यटक अझै बढ्न सकेका छैनन् । यही कारण सन् २०२४ मा अरू देशका पर्यटक बढ्दा भारतीय पर्यटक घटेका थिए । 

सन् २०२५ को सुरुवातदेखि नै भारतीय पर्यटक आगमन घटिरहेको देखिन्छ । जनवरी र फेब्रुअरीमा कुल पर्यटक आगमन बढे पनि भारतीय पर्यटक आगमन २०.१० प्रतिशतले घटेको छ । सन् २०२४ को जनवरी र फेब्रुअरी दुई महिनामा ४९ हजार सात सय १७ भारतीय नेपाल घुम्न आएकामा यस वर्षको सोही अवधिमा ३९ हजार ६ सय ७२ पर्यटक आएको तथ्यांक छ । भारतीय पर्यटक घट्दा समग्र पर्यटक आगमन संख्या पनि उल्लेख्य बढ्न सकेको छैन ।

दुई महिनामा पौने दुई लाख पर्यटक भित्रिए
२०२४ को पहिलो दुई महिना जनवरी र फेब्रुअरीमा कुल पर्यटक आगमन सामान्य बढेको पर्यटन बोर्डको तथ्यांक छ । गत वर्षको पहिलो दुई महिनामा एक लाख ७६ हजार पाँच सय २६ पर्यटक भित्रिएकामा यस वर्षको सोही अवधिमा एक लाख ७६ हजार आठ सय ७१ पर्यटक भित्रिएका छन् । यस वर्षको पहिलो महिना जनवरीमा ७९ हजार नौ सय ९१ र फेब्रुअरीमा ९६ हजार आठ सय ८० पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ । सन् २०२४ को तुलनामा जनवरीमा पर्यटक आगमन सामान्य बढ्दा फेब्रुअरीमा ०.६ प्रतिशतले घटेको देखिन्छ । 

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने भन्छन्– भारतीय पर्यटक घट्नुको मुख्य कारणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्दा उडान कटौती भएर हवाई भाडा महँगो हुनु र भारतीय नागरिक सवार बस दुर्घटनामा पर्नु हो । बस दुर्घटना, अविरल वर्षा र बाढीपहिरोपछि घटेका भारतीय पर्यटक अझै बढ्न सकेका छैनन् ।

भारतीयपछि अमेरिकी आगमन उच्च
फेब्रुअरीमा भारतबाट १९ हजार एक सय ८७ पर्यटक भित्रिएका छन्, जुन कुल पर्यटकमध्ये १९.८ प्रतिशत हो । अमेरिकाबाट १० हजार तीन सय ४८ (१०.७ प्रतिशत हिस्सा) पर्यटक भित्रिँदा चीनबाट आठ हजार दुई सय ३२, थाइल्यान्डबाट पाँच हजार ६ सय नौ र युनाइटेड किङडम (युके)बाट पाँच हजार ५७ पर्यटक भित्रिएको तथ्यांक छ ।

फेब्रुअरीमा भित्रिएका पर्यटकमध्ये ३१ प्रतिशत सार्क कन्ट्रीका रहेका छन् । एक महिनामा सार्क मुलुकबाट ३० हजार एक सय ९६ पर्यटक भित्रिए । अन्य एसियाली देशबाट २९ प्रतिशत अर्थात २८ हजार ९८ पर्यटक आएको तथ्यांक छ ।  युरोपबाट १५ हजार नौ सय ७१ (१६.५%), आसियानाबाट तीन हजार नौ सय ६१ (४%), अमेरिका र क्यानडाबाट १२ हजार पाँच सय ६० (१३%), मध्यपूर्वबाट आठ सय ७९ (०.९%), अफ्रिकाबाट ३२० (०.३%) पर्यटक भित्रिएका छन् । 

फेब्रुअरीमा धेरै पर्यटक भित्रिने प्रमुख पाँच देश
भारत : १९,१८७
अमेरिका : १०,३४८
चीन : ८,२३२
थाइल्यान्ड : ५,६०९
बेलायत : ५,०५७

सुझावित समाचार