चालू आर्थिक वर्ष ०८१/८२ को सात महिनामा ६२ हजार पाँच सय २३ जना बिमितले जीवन बिमालेख बन्द (सरेन्डर) गरेर आठ अर्ब ५९ करोड एक लाख रुपैयाँ भुक्तानी लिएका छन् । नेपाल बिमा प्राधिकरणका अनुसार १४ जीवन बिमा कम्पनीमार्फत सोबराबरको बिमालेख सरेन्डर भएको हो । सञ्चालनमा आएका तीन जीवन लघुबिमा कम्पनीमा भने पोलिसी सरेन्डर भएका छैनन् । समीक्षा अवधिमा १४ बिमा कम्पनीको बिमाशुल्क संकलन ९५ अर्ब ३८ करोड ६६ लाख रहेको छ । यसको ९ प्रतिशतको अनुपातमा पोलिसी सरेन्डर भएको देखिन्छ ।
गत आव ०८०/८१ मा १४ अर्ब ५० करोड १२ लाखबराबरको एक लाख १३ हजार नौ सय ७६ वटा बिमालेख सरेन्डर भएका थिए । चालू आवमा पनि सोही हाराहारीमै सरेन्डर हुने संकेत देखिएको बिमा प्राधिकरणका अधिकारीहरू बताउँछन् । समीक्षा अवधिमा एलआइसी नेपालमा सबैभन्दा धेरै दुई अर्ब ५९ करोड ७९ लाख रुपैयाँको १५ हजार तीन सय ६२ वटा बिमालेख सरेन्डर भएका छन् । धेरै बिमालेख सरेन्डर हुनेमा दोस्रो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीमा दुई अर्ब ३६ करोड २४ लाख रुपैयाँबराबरको १४ हजार २५ वटा बिमालेख सरेन्डर भएका छन् । यसैगरी, तेस्रो स्थानमा भने सरकारी स्वामित्वको राष्ट्रिय जीवन बिमा कम्पनी देखिएको छ । तथ्यांकअनुसार सात महिनामा उक्त कम्पनीमा ७८ करोड ६४ लाख रुपैयाँबराबरको आठ हजार चार सय ९१ वटा बिमालेख सरेन्डर भएका छन् ।
यस्तै, नेसनल लाइफ इन्स्योरेन्समा ५५ करोड १५ लाख रुपैयाँबराबरको तीन हजार सात सय २०, एसियन लाइफ इन्स्योरेन्समा ५४ करोड १९ लाख रुपैयाँबराबरको पाँच हजार एक सय ११, सूर्यज्योति लाइफ इन्स्योरेन्समा ४६ करोड ९९ लाख रुपैयाँबराबरको तीन हजार चार सय ८३, हिमालयन लाइफ इन्स्योरेन्समा ३७ करोड ८१ लाख रुपैयाँबराबरको चार हजार एक सय ३७, मेट लाइफ इन्स्योरेन्समा २४ करोड १२ लाख रुपैयाँबराबरको दुई हजार ९५ र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा १५ करोड ३६ लाख रुपैयाँबराबरको एक हजार ७७ वटा पोलिसी सरेन्डर भएका छन् ।
यस्तै, सिटिजन लाइफ इन्स्योरेन्समा १४ करोड ९१ लाख रुपैयाँबराबरको एक हजार ६ सय ६०, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा १२ करोड ४६ लाख रुपैयाँबराबरको आठ सय ८२, आइएमई लाइफमा १२ करोड ३१ लाख रुपैयाँबराबरको एक हजार ७३, रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा ६ करोड ४३ लाख रुपैयाँबराबरको नौ सय ६५ र सन नेपाल लाइफ इन्स्योरेन्समा चार करोड ५५ लाख रुपैयाँबराबरको चार सय ४२ वटा पोलिसी सरेन्डर भएका छन् । विशेष गरी १०, १५, २०, २५ वर्षलगायतको अवधि राखेर बिमा गरिन्छ । कम्पनीले पनि सोही अवधिभर नै सम्बन्धित बिमितको जोखिम कभर गर्छन् । तर, तीन वर्षको किस्ता तिरेपछि बिमितले अवधि नसकिँदै पनि पोलिसी बन्द (सरेन्डर) गरेर रकम फिर्ता लैजान सक्छन् । बिमितले तिरेको बिमाशुल्क र पोलिसी सक्रिय भएको अवधिको बोनस गणना गरेर एकमुस्ट (सरेन्डर रकम/भ्यालु) फिर्ता गरिनेछ ।
पछिल्लो समय देखिएको आर्थिक शिथिलताले पोलिसी सरेन्डर पनि बढ्दो छ । साथै, केही अभिकर्ता तथा बिमितले रणनीतिक रूपमा नियमित पोलिसी सरेन्डर गर्दै आएका पनि छन् । कतिपय अभिकर्ताले कम्पनी परिवर्तन गर्दा आफ्नो नजिकका बिमितलाई पनि सँगै लिएर जाने गरेका छन् । अभिकर्तालाई बिमा अवधिभर कमिसन नदिने नीतिका कारण पनि पोलिसी सरेन्डर हुने गरेको छ । २०/२५ वर्षको अवधि राखेर बिमा गरिन्छ । तर, अभिकर्तालाई १० वर्ष मात्र कमिसन दिने नीति छ । त्यो अवस्थामा अभिकर्ताले कमिसनका लागि १० वर्षपछि पोलिसी बन्द गर्न लगाएर पुनः बिमा गराएको पनि जानकारवाला बताउँछन् ।
पहिला बिमा गरेको दुई वर्षसम्म पोलिसी बन्द गर्न पाइने थिएन । अभिकर्ताले कमिसनका लागि नियोजित रूपमै पोलिसी बन्द गराउँदै बिमा गराउने गरेको पाइएपछि नेपाल बिमा प्राधिकरणले चैत ०७७ मा निर्देशन जारी गर्दै बिमा पोलिसी किनेको दुई वर्षसम्म पोलिसी सरेन्डर गर्न नपाउने सीमालाई तीन वर्ष पुर्याएको थियो । तैपनि, पोलिसी सरेन्डर बढ्ने क्रम जारी नै छ ।
सरेन्डर बढ्दा पहुँच पनि प्रभावित
बिमालेख सरेन्डर बढ्दा बिमा पहुँच पनि बढ्न सकेको छैन । माघ मसान्तसम्म ४३.९४ प्रतिशत नेपालीमा बिमा पहुँच विस्तार भएको छ । तर, असार ०८० असारमा बिमा पहुँच ४४.३८ प्रतिशत पुगेको थियो । तर, त्यसपछि घटेको बिमा पहुँच अझै त्यो विन्दुमा पुग्न सकेको छैन । बिमालेख सरेन्डर गर्ने प्रवृत्ति बढ्दो छ । तर, बिमा गर्न आउने नयाँ व्यक्तिको संख्या पनि पछिल्लो आर्थिक शिथिलताले बढ्न सकेको छैन । त्यसले गर्दा बिमा पहुँच अपेक्षाकृत रूपमा बढ्न नसकेको प्राधिकरणका अधिकारीहरू बताउँछन् । पछिल्ला महिनामा पहुँच बढ्दो क्रममा देखिए पनि सामान्य अवस्थामा पुग्न नसकेको उनीहरूको भनाइ छ ।