दोस्रो वीरगन्ज गोल्डकप : संकटालाई टाइब्रेकरमा हरायो सहलेशले

सोमबार, १९ फागुन, २०८१
डिजिटल संस्करण

सहलेश फुटबल क्लबले दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगितामा संकटा क्लबलाई ५–४ ले हराउँदै अर्को चरणमा पुगेको छ । आदर्शनगर रंगशालामा आइतबार भएको खेलको ९० मिनेटमा दुवै क्लबले गोल गर्न नसकेपछि विजेताको छिनोफानो टाइब्रेकरबाट भएको हो । संकटाका कप्तान सुदीप गुरुङ, राजीव लोपचन, इसेरिङ लामा र सोम कर्लोसले गोल गरेका थिए । राम थापाको प्रहार बाहिरिएपछि संकटा प्रतियोगिताबाट बाहिरिएको हो । 

टाइबे्रकरमा सहलेशका एमबाउन अनिसेट, सुमित श्रेष्ठ, अमन लामा, शिसिस लेखी र जय गुरुङले गोल गरेका थिए । खेलको पाँचौँ मिनेटमा सहलेशका फोफानो ब्राहिमनले प्रहार गरेको उत्कृष्ट फ्रिकिक बल बारमाथि गएको थियो । संकटाका गोलरक्षक विशाल केसीले सहलेशका उत्कृष्ट प्रहार विफल पारेका थिए । पहिलो हाफमा दुवै क्लबका खेलाडीले निकै गोल प्रयास गरेका थिए । तर, उनीहरूको फिनिसिङ फितलो देखिएको थियो ।

दोस्रो हाफमा संकटा र सहलेशले गोलरहित बराबरी खेले । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सहलेशका गोलरक्षक विशाल सुनारले म्यान अफ दी म्याच हुँदै १० हजार रुपैयाँ जिते । सोमबार नेपाल पुलिसले बागमती फुटबल क्लब सर्लाहीको सामना गर्नेछ । प्रतियोगितामा मच्छिन्द्र, बागमती, नेपाल पुलिस, चर्च ब्वाइज युनाइटेड, सलहेश र आयोजक वीरगन्ज युनाइटेड क्लबले सहभागी छन् । 

दोस्रो वीरगन्ज गोल्डकप विजेताले ११ लाख ११ हजार र उपविजेताले पाँच लाख ५५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा दुई हजारभन्दा बढी दर्शक अट्ने अस्थायी प्यारापिट निर्माण गरिएको छ । 

सुझावित समाचार