पाँचपटक फिफा विश्वकप खेलेका र इटालीलाई विश्व च्याम्पियन बनाएका इटालियन गोलरक्षक जियानलुगी बुफोन तीनदिने भ्रमणका लागि आइतबार नेपाल आइपुगेका छन् । युवा संघ नेपालको निमन्त्रणमा आएका ४७ वर्षीय बुफोनले केपी ओली कपको फाइनल प्रतिस्पर्धा हेर्नेछन् । फाइनल सोमबार दशरथ रंगशालामा हुनेछ । जहाँ लगातार तेस्रोपटक फाइनल पुगेको मच्छिन्द्र र त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
‘केपी ओली कपको फाइनल हेर्न आतुर छु,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुफोनले भने, ‘मलाई लाग्छ, उपाधि भिडन्त प्रतिस्पर्धात्मक हुनेछ ।’ युवा संघले केपी ओली कपको फाइनलको प्रमुख अतिथिका रूपमा उनलाई निमन्त्रणा गरेको हो । सन् २००६ को फिफा विश्वकप फाइनलमा इटालीले फ्रान्सलाई टाइब्रेकरमा हराउँदै चौथोपटक ट्रफी उचालेको थियो । इटाली च्याम्पियन हुँदा बुफोन कप्तान थिए । सो विश्वकपमा उनी सर्वाेत्कृष्ट गोलरक्षक बनेका थिए ।
बुफोनले पत्रकारसँगको संक्षिप्त अन्तक्र्रियामा नेपालको झन्डा अनौठो लागेको बताए । ‘नेपालको झन्डा फरक पाएँ,’ उनले भने, ‘अरू देशको भन्दा यो झन्डा फरक रहेछ ।’ उनले नेपाल आउने सपना पूरा भएको जनाएका छन् । ‘धेरै अगाडिदेखि नै नेपाल आउने योजना थियो, आज सपना पूरा भएको छ,’ उनले भने, ‘म र मेरो श्रीमतीका लागि अवस्मरणीय दिन रह्यो । नेपाल निकै सुन्दर छ ।’
छोटो समयका कारण नेपालका मुख्य क्षेत्रमा भ्रमण गर्न नसकिने उनको भनाइ छ । ‘यसपटक प्रतियोगिताको फाइनल हेर्न छोटो समयका लागि नेपाल आएको छु, अर्कोपटक आउँदा नेपालको मुख्य–मुख्य स्थानमा जानेछु,’ उनले भने । युवा संघका प्रवक्ता तथा उपाध्यक्ष कृष्णहरि केसीका अनुसार बुफोन मंगलबार नै स्वदेश फर्किनेछन् ।
बेकह्यामपछि नेपाल आउने ठुला फुटबलर
६ नोभेम्बर २०१५ मा इंग्लिस फुटबलर डेभिड बेकह्यामले नेपाल भ्रमण गरेका थिए । युनिसेफको एक कार्यक्रममा आएका बेकह्यामले भक्तपुरको पाँचतले मन्दिरपरिसरमा बालबालिकासँग फुटबल खेलेका थिए । त्यसवेला ०७२ को भूकम्पले प्रभावित भक्तपुरका विभिन्न क्षेत्रमा उनले निरीक्षण गरेका थिए । बेकह्यामपछि विश्व फुटबलमा नाम चलेका फुटबलर आउनेमध्ये इटालीका पूर्वकप्तान तथा गोलरक्षक बुफोन दोस्रो हुन् । बुफोनले इटालीबाट १७६ मध्ये ८० खेलमा कप्तानी गरेका थिए । उनले सन् १९९८ देखि २०१४ सम्म लगातार पाँचपटक फिफा विश्वकपमा व्यावसायिक फुटबलमा उनले इटालीको युभेन्टसमा १७ वर्ष बिताए । बुफोनले सन् २०२१–२०२३ को सिजन पार्माबाट खेल्दै व्यावसायिक फुटबलबाट सन्न्यास लिएका थिए ।
उपाधिका लागि मच्छिन्द्र र आर्मी भिड्दै
केपी ओली कपको उपाधिका लागि सोमबार आर्मी र मच्छिन्द्र भिड्दै छन् । आर्मीका प्रशिक्षक मेघराज केसीले मच्छिन्द्र बलियो रहेको बताए । ‘राष्ट्रिय टोलीका अधिकांश खेलाडी समावेश गरेको मच्छिन्द्र बलियो छ, तर हामी उपाधि जित्न निरन्तर मिहिनेत गरिरहेका छौँ,’ केसीले भने । आर्मीले सेमिफाइनलमा संकटालाई २–१ ले हराएको थियो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले गोल गरेका थिए । आर्मीमा जिलेस्पीजंग कार्की, जर्ज प्रिन्स कार्की, भरत खवास, विकेश कुथूजस्ता अनुभवी खेलाडी छन् ।
मच्छिन्द्रले फाइनलका क्रममा आयोजक केपी ओली एफसीलाई ४–० ले हराएको थियो । मच्छिन्द्रका गोलरक्षक तथा कप्तान विशाल श्रेष्ठले लगातार तेस्रोपटक उपाधि जित्न तयार रहेको बताए । ‘लगातार तेस्रोपटक च्याम्पियन बन्न खेल्दै छु,’ विशालले भने, ‘आर्मी राम्रो छ, नयाँ खेलाडीले राम्रो खेलिरहेका छन् ।’