अस्ट्रेलियन रोस बने पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक

४०४ जना प्रतिस्पर्धीलाई पन्छाएर मुख्य प्रशिक्षक बनेका म्याट रोसको प्रशिक्षणमा नेपालले २१ मार्चमा सिंगापुरविरुद्धको पहिलो मैत्रीपूर्ण खेल खेल्ने

सोमबार, १९ फागुन, २०८१
डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन म्याट रोसलाई नियुक्त गरेको छ । नौ महिनापछि फुटबल टोलीले मुख्य प्रशिक्षक पाएको हो । गत असारमा भिसेन्जो एन्सेसको सम्झौता नवीकरण नभएपछि मुख्य प्रशिक्षक रिक्त रहेको थियो । नवनियुक्त मुख्य प्रशिक्षक रोसले २१ मार्चमा सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलदेखि कार्यभार सम्हाल्नेछन् । मैत्रीपूर्ण खेलपछि नेपालले २५ मार्चमा एएफसी एसियन कप, २०२७ को छनोटअन्तर्गत मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । एएफसी एसियन कप, २०२७ को छनोट चरणको अन्तिम चरणमा नेपाल समूह ‘एफ’मा छ । नेपालको समूहमा मलेसिया, भियतनाम र लाओस छन् । 

एन्फाले गत माघमै एन्फाले पाँचजनाको सर्टलिस्टबाट रोसलाई मुख्य प्रशिक्षक बनाएको थियो । माघको दोस्रो साता नै उनी नेपाल आएका थिए । नेपालको घरेलु फुटबल संरचना तथा खेलाडीबारे राम्रोसँग थाहा भएको रोसले बताएका छन् । ‘गत माघमा नेपाल आएर फुटबलको वातावरण बुझ्ने अवसर पाएँ,’ रोसले एन्फासँग भनेका छन्, ‘मैले नेपालमा फुटबलप्रति धेरै माया भएको देखेँ ।’ लगभग एक महिनाको अवधिमा उनले महिला राष्ट्रिय लिग, फोर नेसन्स अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप र केपी ओली कपको खेल हेरेका छन् । 

‘यस अवधिमा मैले धेरै खेल हेरेँ, अब खेलाडीसँग काम गर्न निकै उत्साहित छु,’ उनले भने । नेपालका सिनियर तथा युवा खेलाडीको पलायनबारे आफूलाई राम्रो जानकारी भएको प्रशिक्षक रोसले जनाए । ‘केही वर्षभित्र ५० जनाभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी अस्ट्रेलिया पुगेका छन्,’ उनले भने, ‘संयोगवश म पनि अस्ट्रेलियाबाट नेपाल आएको छु, तर नेपाली खेलाडी भने अस्ट्रेलिया गइरहेका छन्, यो विषय गम्भीर छ ।’ नेपाल बसाइका क्रममा नेपाली खेलाडीको स्तरसँग परिचित भएको उनको भनाइ छ । ‘नेपाली खेलाडी प्राविधिक रूपमा राम्रा छन्,’ उनले भने, ‘मार्चमा हामीले महत्वपूर्ण प्रतियोगिता खेल्दै छौँ, यसको तयारी राम्रो हुनुपर्छ ।’ 

मलेसिया र सिंगापुरविरुद्ध चुनौती
फिफा वरीयतामा सिंगापुर र मलेसियामाथि छन् । मलेसिया १३२, सिंगापुर १६० र नेपाल १७५औँ स्थानमा छन् । सिंगापुर र मलेसियासँगको प्रतिस्पर्धा आफ्ना लागि चुनौती रहेको मुख्य प्रशिक्षक रोसले बताए । ‘मलेसिया र सिंगापुरलाई निकै कठिन प्रतिद्वन्द्वीका रूपमा लिएको छु, वरीयतामा पनि हामीभन्दा उनीहरू माथि छन्,’ उनले भने, ‘दुई बलिया राष्ट्रविरुद्ध खेल्न कम समयमा राम्रो तयारी गर्नुपर्छ ।’ नेपाली टोली घोषणा गर्न क्याम्प आवश्यक भइसकेको र उनीहरूसँग सम्बन्ध बनाउन अत्यन्तै जरुरी भएको रोसको भनाइ छ । 

‘छोटो समयको क्लोज क्याम्पमा खेलाडीसँग जोडिनु जरुरी छ,’ उनले भने, ‘हाम्रा लागि चुनौती भए पनि सामना गर्न तयार छौँ ।’ रोसले एसिया कप छनोटमा मलेसियाविरुद्ध अंक खोस्ने योजना रहेको बताए । ‘मेरो पहिलो लक्ष्य राम्रो टोली बनाउने हो, त्यसपछि एसिया कपमा मलेसियासँगको खेलमा अंक खोस्ने हुनेछ,’ उनले भने, ‘तर, हामीसँग तयारीको समय छोटो छ ।’ नेपालले ग्रासरुटदेखि फुटबल विकास गरे अन्तर्राष्ट्रिय उपाधि जित्न सक्ने उनको भनाइ छ । ‘ग्रासरुटबाट फुटबलको विकास गर्न सके नेपालका पुरुष र महिला टोलीले फिफा वरीयतामा सुधार गर्न सक्छन्, साथै सिनियर र उमेर समूहका च्याम्पियनसिप जित्न सक्छौँ,’ उनले भने । 

मुख्य प्रशिक्षक बन्न ४०५ जनाको थियो आवेदन
गत असारमा एन्फाले इटालियन एन्सेससँगको सम्झौता नवीकरण गरेन । त्यसपछि एन्फाले पुरुषतर्फको मुख्य प्रशिक्षकका लागि गत भदौमा दरखास्त आह्वान गर्यो । नेपालसँगै विभिन्न राष्ट्रबाट ४०५ जनाले प्रशिक्षक बन्न निवेदन दिएका थिए । एन्फाले मुख्य प्रशिक्षकका लागि प्रो लाइसेन्ससहित व्यावसायिक स्तरको फुटबलमा कम्तीमा पाँच वर्षको अनुभव हुनुपर्ने बताएको थियो । ४०५ मध्ये एन्फाले २० जनाको सर्टलिस्ट बनायो । त्यसपछि २० जनाबाट १० जनाको अर्को सर्टलिस्ट तयार भयो । अन्तिममा एन्फाले पाँचजनाको सर्टलिस्ट तयार पारेको थियो । पाँचजनाको अन्तर्वार्ता लिएर एन्फाले रोसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । 

प्रो लाइसेन्स भएका रोस 
४७ वर्षीय रोस युइएफए प्रो लाइसेन्सप्राप्त प्रशिक्षक हुन् । उनीसँग सन् २०२० मा दक्षिण कोरियाको महिला राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको अनुभव छ । उनको प्रशिक्षणमा कोरियाको महिला टोली सन् २०२२ को एएफसी एसियन कपको फाइनलमा चीनसँग ३–२ ले पराजित भएको थियो । नेपालका मुख्य प्रशिक्षक बन्नुअघि उनले युएईको युनाइटेड एफसीको सहायक प्रशिक्षकमा काम गरेका थिए । यसैगरी उनीसँग चीनको यू–१५ महिला टोलीको मुख्य प्रशिक्षकका रूपमा काम गरेको अनुभव छ । राष्ट्रिय टोलीबाहेक रोसले जर्मन बुन्डेस लिगा क्लब फ्रान्कफर्टको महिला टोलीको सपोर्ट स्टाफका रूपमा चार वर्ष काम गरेका थिए । फ्रान्कफर्टले सन् २०१५ मा महिला च्याम्पियन्स लिग उपाधि जितेको थियो । 

मलेसियाविरुद्ध अंक खोस्ने योजना हो
 म्याट रोस, मुख्य प्रशिक्षक, नेपाल

मलेसिया र सिंगापुरलाई निकै कठिन प्रतिद्वन्द्वीका रूपमा लिएको छु, वरीयतामा पनि हामीभन्दा उनीहरू माथि छन, छोटो समयको क्लोज क्याम्पमा खेलाडीसँग जोडिनु जरुरी छ, एसिया कपमा मलेसियासँगको खेलमा अंक खोस्ने हुनेछ, म पनि अस्ट्रेलियाबाट नेपाल आएको छु, तर नेपाली खेलाडी भने अस्ट्रेलिया गइरहेका छन्, यो विषय गम्भीर छ 

सुझावित समाचार