बजारमा च्याउको माग बढ्दै जान थालेपछि यतिखेर सल्यानका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित हुन थालेका छन् । उनीहरूले च्याउखेतीलाई रोजगारीको आधार बनाई मनग्य आम्दानीसमेत गर्दै आइरहेका छन् । त्यसैमध्येका उदाहरण हुन्, शारदा नगरपालिका– १३, सांगार, सल्यानका लालबहादुर नेपाली ।
सुरु–सुरुमा च्याउ फलाउने र बेच्ने गर्दै आएका नेपाली हिजोआज भने आफैँ च्याउको बिउ उत्पादन गर्न थालेका छन् । १४ वर्षदेखि व्यावसायिक रूपमा च्याउखेती गर्दै आइरहेका नेपालीले अहिले च्याउ र बिउबाट नै वार्षिक २० लाखभन्दा बढीको कारोबार हुने गरेको बताए । ‘बजारको मागअनुसार जिल्लामा च्याउ नै उत्पादन भएको छैन,’ उनले भने, ‘जिल्लाभित्र उत्पादन भएको च्याउ नपुग्दा जिल्लाबाहिरबाट समेत आउने गरेको छ ।’
त्यस्तै, सोही नगरपालिका– १, श्रीनगरका किसान देवबहादुर बुढाले पनि विगत पाँच वर्षदेखि च्याउखेती गर्दै आएका मात्रै छैनन्, मनग्य आम्दानीसमेत गर्दै आएका छन् । बजारीकरण हुँदैन कि भनेर चिन्ता मान्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । ‘स्थानीय बजारमा दैनिक दुई क्विन्टलभन्दा बढी च्याउको माग हुन्छ । तर, मागअनुसार पुर्याउन सकिएको छैन,’ बुढाले भने । बजारलाई हेरी गत वर्ष तीनवटा टनेलमा च्याउखेती गर्दै आएका उनले यस वर्ष ६ वटा टनेलमा विस्तार गरेका छन् । यस वर्ष वार्षिक २० लाखभन्दा बढीको कारोबार गर्ने लक्ष्यसहित टनेल विस्तारलाई अघि बढाइरहेको बुढा बताउँछन् ।
जिल्लाभर कति किसान व्यावसायिक च्याउखेतीमा आबद्ध छन् भन्ने यकिन तथ्यांक नभए पनि ११–१२ जना किसानले च्याउखेती गर्दै आएको कृषि विकास कार्यालय, सल्यानले जनाएको छ । जिल्लामा च्याउखेतीप्रति किसानको आकर्षण बढेपछि अनुदान, तालिम र प्राविधिक सहयोग गर्दै आएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताए । उनले भने, ‘जिल्लाभरका किसान च्याउखेतनीतर्फ आकर्षित भएपछि कृषि विकास कार्यालयले तालिम र प्राविधिक सहयोग गर्दै आएको छ ।’ उनका अनुसार जिल्लामा कन्ये र गोब्रे च्याउको खेती गरिँदै आएको छ ।