सदनमा प्रस्तुत अध्यादेश पास हुन्छ : सञ्चारमन्त्री

शनिबार, १७ फागुन, २०८१
डिजिटल संस्करण

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारले सदनमा प्रस्तुत गरेका अध्यादेश पारित हुने बताएका छन् । 

पोखरामा रहेको हिमालय आँखा अस्पतालको ३२औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उनले सुशासन प्रवर्द्धन र सार्वजनिक सेवालाई प्रभावकारी बनाउने गरी सरकारले अध्यादेश ल्याएकाले पारित गर्नुपर्ने बताए ।

सञ्चारमन्त्री गुरुङले केभन्दा जनता खुसी हुन्छन् भनेर होइन जनता के काम गर्दा खुसी हुन्छन् भनेर सोच्नुपर्ने बताए । 'स्वास्थ्य क्षेत्र अस्तव्यस्त छ, शिक्षा क्षेत्र त्यस्तै छ । अस्तव्यस्तताभित्र सुधार कसरी गर्न सकिन्छ भनेर अध्यादेश ल्याएको हो,' उनले भने । सुशासनविना देशको विकास नहुने भएकाले सुशासन प्रवर्द्धनका लागिसमेत अध्यादेशले सहयोग पुग्ने उनको विश्वास थियो ।

मन्त्री गुरुङले भने, 'नेपालको ऐन, कानुनमा एकैपटक धेरै सुधार गर्नुपर्ने देखिएकाले संवैधानिक प्रावधानअनुसार नै अध्यादेश ल्याइएको हो । हामीलाई के अनुभव छ भने संसदबाट एउटा विधेयक पास गर्न पाँच वर्ष लाग्यो । सुशासन कायम र सार्वजनिक सेवालाई प्रभावकारी बनाउन १२ कानुन संशोधन गर्न आवश्यक छ । संशोधन नगरीकन सुशासन हुँदैन, सार्वजनिक सेवा प्रवाह प्रभावकारी तत्कालै गर्नुपर्दछ । अध्यादेश पास हुन्छ, पास गराउनुपर्दछ ।'

संसद् चलिरहेका वेलाअध्यादेश ल्याउन नपाइने भएकाले नै सरकारले संसद् सुरु हुनुभन्दा अघि ल्याएकाले संसद् छलेर अध्यादेश ल्याइएको भनेर चर्चा गर्नु आवश्यक नरहेको उनले बताए । सञ्चारमन्त्री गुरुङले निजी क्षेत्रबाट सञ्चालन भएर देशकै नमुना आँखा अस्पतालका रूपमा रहेको हिमालय आँखा अस्पताललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।

'पोलिसीमा परिवर्तन गर्नुपर्नेछ भने पनि गरौँला, हिमालय आँखा अस्पतालप्रति मेरो माया र ममता छ । स्वास्थ्य क्षेत्रमा गरेको योगदान र राम्रो अस्पताल सञ्चालन गरेकामा बधाई छ । मेरो तर्फबाट भौतिक पूर्वाधारलगायत आवश्यक पर्ने सहयोग रहनेछ,' उनले भने ।

राष्ट्र, जनता, व्यवस्था, शान्ति सुव्यवस्था र राष्ट्रिय एकता कमजोर बनाउने गतिविधि रोक्न सामाजिक सञ्जाल नियमन विधेयक ल्याइएको मन्त्री गुरुङले बताए । उनले सरकारले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई हनन गर्न नखोजेको भन्दै विधेयकमा उल्लेख गरिएको दण्ड सजायका बारेमा छलफल तथा  परिमार्जन हुन सक्ने उल्लेख गरे ।

कार्यक्रममा अस्पतालका पूर्वअध्यक्ष डा. दिलबहादुर क्षेत्री, गण्डकी प्रदेश सभा सदस्य भीम कार्की, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नेपाल नेत्र ज्योति संघका अध्यक्ष सुरेन्द्र थापामगर, अस्पतालका मेडिकल डाइरेक्टर डा. बबिता गुरुङ, पत्रकार महासंघका अध्यक्ष माधव बराललगायतले अस्पतालको स्थायित्वका लागि गण्डकी प्रदेश सरकारले स्वामित्व लिनुपर्नेमा जोड दिए । सो अवसरमा सापु रोगसम्बन्धी सचेतना भिडियो प्रतियोगितामा विजयी विद्यार्थी तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।

सुझावित समाचार