अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका नेता भोलोदिमिर जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउने जुवा खेल्न लागेको आरोप लगाएका छन्। शुक्रबार ट्रम्प जेलेन्स्कीबिच भएको वार्तामा ट्रम्पले यस्तो भनेका हुन्।
‘तपाईं लाखौँ मानिसहरूको जीवनसँग जुवा खेल्दै हुनुहुन्छ। 'तपाईं तेस्रो विश्वयुद्ध निम्त्याउने जुवा खेल्दै हुनुहुन्छ र तपाईंले जे गरिरहनुभएको छ, त्यो यो देशप्रति अपमानजनक छ,’ ट्रम्पले भने। ओभल अफिसमा भएको वार्तामा दुई नेताबिच आफ्ना-आफ्ना अडान राख्ने क्रममा चर्काचर्की भएको छ।
वार्ताका क्रममा दुवै नेताले आफ्ना धारणा राख्ने क्रममा उनीहरूबिच भनाभनको अवस्था आएपछि ट्रम्पले यस्तो भनेका हुन्। वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले भनेको कुरामा असहमति जनाएपछि आक्रोशित ट्रम्पले जेलेन्स्कीसँग भने, ‘तपाईंहरू या त सम्झौता गर्न तयार हुनुपर्छ। अमेरिका युक्रेनलाई सहयोग गर्ने बाटोबाट बाहिरिइसकेको छ।’
अमेरिकी राष्ट्रपतिले हालै आफ्ना युक्रेनी समकक्षीलाई तानाशाहको संज्ञा दिए पनि युक्रेनको खनिज सम्पदा बाँडफाँट गर्ने र रुससँग शान्ति सम्झौताबारे छलफल गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निमन्त्रणामा जेलेन्स्कीले ह्वाइट हाउसको भ्रमण गरेका हुन्।
फ्रान्स र बेलायतका नेताहरू पनि ह्वाइट हाउसमा आएर ट्रम्पलाई किएभसँगको सहकार्य नछोड्न गरिएको आग्रहपछि यो बैठक भएको हो।रासस/एएफपी